डण्डिराज घिमिरे
जतिबेला म स्नातक तहको दोस्रो बर्षमा अध्ययनरत थिएँ, एउटा औपचारिक कार्यक्रममा उक्त क्याम्पसका संस्थापक क्याम्पस प्रमुखको मन्तब्यले मेरो मस्तिष्कमा उथलपुथल गरायो । वहाँ भन्दै हुनुन्थ्यो “हाम्रा जस्ता क्याम्पसहरु धमाधम शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत हुँदैछन् , देशको शैक्षिक प्रणालीमा सुधारहुन आवस्यक छ ।” म सुन्दर भविष्य निर्माणको सपना बोकेर पढ्दै गरेको विद्यार्थीलाई यो भनाइले पक्कै पनि गहिरो चिन्ता र चासो थपिदियो । म भित्र अचानक एकप्रकारको छटपटाहट सुरु भयो ।
क्याम्पसमा म स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सचिवको जिम्मेवारीमा समेत थिएँ । कार्यक्रम समापन पछि चमेनागृहमा चिया पिउँदै उवहाँलाई नेपालको शैक्षिक प्रणाली सुधार गर्न के गर्नुपर्छ गुरु भनेर थप स्पष्ट पार्न अनुरोध गरें । नेपालको विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा ब्यापक परिवर्तन गरिनुपर्ने उवहाँले बताउनुभयो । त्यसैदिनबाट पाठ्यक्रमको बारेमा गहन अध्ययन गर्ने र शिक्षा क्षेत्रको सुधारमा केही योगदान गर्ने हुटहुुटी जाग्दै गयो मेरो मन भित्र ।
फलस्वरुप बि.एड सकेपछि “पाठ्यक्रम तथा मूल्याङ्कन” विषयमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर बाट एम.एड. सम्मको अध्ययन पनि प्रथम श्रेणीमा पुरा गरें । तर जुन सवालहरु, उदेश्य, सपना र हुटहुटीले मलाई डेढदशक अगाडि यो विषय पढ्न प्रेरित गर्यो ती सबै अधुरा, अपुरा र अनुत्तरित छन् । आखिर हामी जस्ता केही विद्यार्थीले पाठ्यक्रम तथा मूल्याङ्कन विषय पढ्दैमा देशको शिक्षा प्रणाली र पाठ्यक्रममा परिवर्तन भैहाल्छ भन्ने पनि होइन रहेछ ।
मेरो चाहना त नेपाली शिक्षा प्रणालीलाई सुधार्नु थियो । पाठ्यक्रमलाई सीपमूलक, व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र आवस्यकतामूलक बनाउने दिशामा सम्बन्धित पक्षलाई पहल गर्नु थियो । पाठ्यक्रममा नेपाली जनताको रुचि, चाहना र आवस्यकतालाई उच्च प्राथमिकता दिन सम्बन्धित निकायलाई घच्घच्याउनु थियो । त्यहि मुताविक बिभिन्न भूमिका सहित अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवहारसँग जोड्न निरन्तर शिक्षण पेशामा समेत आबद्ध छु । तर दुई दशकको मेरो शिक्षण जीवनको भोगाइले भन्छ हाम्रो शैक्षिक पाठ्यक्रममा धेरै समस्याहरु छन् । वास्तवमै आज पनि शैक्षिक बेरोजगार उत्पादनको कारखानामा परिणत भइरहेको छ पाठ्यक्रम किन ?
समस्या पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीमा कि विद्यार्थीमा ?
मैले मोटरसाइकल सर्भिसिङ तथा मर्मत गराउने ग्यारेजमा मेरो देशको पाठ्यक्रमले कक्षा ७ मै असफल ठहर गरिदिएको विद्यार्थी सफल प्राविधिक छ । कक्षा आठमा नै केही जान्दैन यो काम लाग्दैन भनेको विद्यार्थी शहरकै सबैभन्दा राम्रो काठको कालिगढ तथा ठूलो फर्निचर व्यवसायी छ । कपाल काटाउने शैलुनमा जान्छु त्यहाँ पनि, सागसब्जी किन्ने बजारमा जान्छु त्यहाँ पनि, घरको बिजुली वेरिङमा समस्या हुँदा मर्मत गरिदिने, धारापानी प्लम्बिङ गरिदिने, घर भवन निर्माण गरिदिने ठेकेदार तथा मिस्त्री, होटलमा कामगर्ने कालिगड, पेन्टर, गाउघरमै बसेर घरेलु तथा कुटिर उद्योग चलाउने उद्योगी युवाहरु लगाएतका पात्रहरु जो जो स्वदेशमै रहेर आ–आफ्नो ठाउँबाट राष्ट्र निर्माणमा छन् उनीहरुलाई मेरो देशको पाठ्यक्रमले विश्वविद्यालयतह सम्म पुग्नै दिएन र विद्यालय तहमै पनि असफल बनाइदियो किन ? यो प्रश्नको उत्तर आजसम्म पनि पाउन सकिएन ।
पाठ्यक्रम तथा मुल्याङ्कनले सफल भनेको र प्रमाणपत्र दिएको अधिकांस जनशक्ति स्वदेशमै छैनन् किन ? बौद्धिक पलाएनलाई गौरव गर्ने मानसिकताको विकास गराउने पाठ्यक्रम कसरी सफल ? अबैज्ञानिक पाठ्यक्रम तथा मूल्याङ्क प्रणालीको सिकार भइ अध्ययनलाई अधुरै छाडेर खाडीराष्ट्रको तातो घाममा पसिना बगाउदै राष्ट्र निर्माणमा रेमिट्यान्स पठाउने चै कसरी असफल ?
म त्रि.वि.कीर्तिपुरमा अध्ययन गर्दा तत्कालिन पाठ्यक्रम तथा मूल्याङ्कन विभागको प्रमुखमा प्रा. डा. तिर्थराज पराजुली हुनुहुन्थ्यो । उवहाँ लगाएतका प्रध्यापकहरुसँग पटक पटक अन्तरक्रिया कार्यक्रममा यिनै सवालहरुमा छलफल पनि ग¥यौं हामीले । जति अन्तरक्रिया छलफल गरेता पनि यि सवालहरु आजसम्म पनि अनुत्तरित छन् ।
स्थानीय पाठ्यक्रमले जगाएको आसाको दियो
वर्तमान सङ्घीय संरचनाअन्तर्गत अभिभावक, स्थानीय विज्ञ, शिक्षक तथा अन्य सरोकारवालाहरुको सहभागितामा स्थानीय पाठ्यक्रमको विकास गर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारलाई हस्तान्तरण भएको छ । हाल वआधारभूत हत कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पालिका अथवा संवन्धित विद्यालय आफैले १०० पूर्णङ्कको स्थानीय पाठ्यक्रम देशैभर धमाधम निर्माण तथा कार्यन्वयन भैरहेको छ । यो अत्यन्तै सकरात्मक र आसलाग्दो पक्ष पक्कै हो । स्थानीय पाठ्यक्रमको जगमा विद्यालय शिक्षा विविधतायुक्त जनसङ्ख्या र स्थानीय समुदायको अवस्यकतासँग पक्कै पनि अझ सान्दर्भिक हुनेछ भन्ने आसा गर्न सकिन्छ ।
स्थानीय सरकारहरुलाई स्थानीय सन्दर्भ र आवस्यकताका आधारमा विषयवस्तुको छनौट गर्ने पूर्ण स्वायत्तता प्रदान भएको छ । विद्यार्थीको रुची, सापेक्षित समाज र समयको आवस्यकता अनुकुल शैक्षिक विकेन्द्रीकरणको अवधारणा अनुसार आवस्यकतामा आधारित शिक्षाको जग बसाउन स्थानीय पाठ्यक्रम सफल भएमा पाठ्यक्रमका सम्बन्धमा उत्पन्न धेरै विरोधाभासहरुको अन्त्य हुनेछ ।
के हो स्थानीय पाठ्यक्रम भनेको ?
स्थानीय स्तरमा सरोकारवालाहरुको सहभागितामा स्थानीय आवश्यकता अनुसार स्थानीय विषयवस्तुहरु सवावेश गरी निर्माण र कार्यान्वयन हुने पाठ्यक्रम स्थानीय पाठ्यक्रम हो । स्थानीय पाठ्यक्रम समाजको सापेक्षित आवस्यकता ज्ञान, सीप, प्रविधि आदिमा आधारित विषयक्षेत्रका साथै स्थानीय नागरिकहरुको जीवनसँग प्रत्यक्ष सम्वन्धित रहेको हुन्छ । स्थानीय अवस्यकता, परम्परा, संस्कृति तथा जनजीविकाका अभ्यासहरुको संरक्षण र प्रवर्धन गर्ने जीवनोपयोगी, व्यवहारिक पक्षहरुलाई स्थानीय पाठ्यक्रमले समेटेको हुनुपर्छ ।
शिक्षण सिकाईमा शिक्षक तथा विद्याथीलाई सक्रिय बनाउने, सिकारुको रुचि र अवस्यकता तथा प्रतिभाको पहिचान गर्ने मेरुदण्ड हो स्थानीय पाठ्यक्रम । समसामयिक परिवेश सुहाउँदो शिक्षा प्रणाली लागु गरी प्रत्येक व्याक्ति, परिवार, समाज, स्थानीय पालिका तथा समग्र राष्ट्रलाई शिक्षित सम्पन्न र आत्मनिर्भर गराई श्रमजीवि वर्गको पहँुचमा शिक्षा प्रदान गराउने बलियो माध्यम स्थानीय पाठ्यक्रम हो ।
निष्कर्ष
जबसम्म पाठ्यक्रम लक्षित समूहको रुचि, क्षमता, आवस्यकता अनुरुपको हँदैन तबसम्म त्यो शिक्षा सिपमूलक, व्यवहारिक, जीवनोपयोगी र वैज्ञानिक बन्न सक्दैन । वैज्ञानिक पाठ्यक्रम भनेको कुनै व्याक्तिलाई वैज्ञानिक बनाएर चन्द्रमामा पु¥याउने पाठ्यक्रम होइन । व्यवहारिक, सिपमूलक, जीवनोपयोगी र आवस्यकतामूलक पाठ्यक्रम नै वैज्ञानिक पाठ्यक्रम हो । जुन केन्द्रिकृत पाठ्यक्रम ढाँचा वा प्रणालीबाट सम्भव छैन, जसको लागि स्थानीय विकेन्द्रिकृत पाठ्यक्रम नै मुख्य आधारशिला हो । ४ साउन २०७९,गौरादह नपा, झापा