Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ६ असार २०७९ । अविरल आएको वर्षाका कारण रतुवा खोलामा आएको बाढीले कटान गर्दा दमकका १३ घर परिवार विस्थापित भएका छन् । सोहि बाढीका कारण गौरादहका करिब २५ घर डुबानमा परेका छन् । आइतबार (हिंजो) राति अन्दाजि ९ः५५ बजेको समयमा लगातार आएको वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक -७ को रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको बस्तीमा कटान गरेको हो ।

कटानमा परी दमक-७ का खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती , गोमा तामाङ, सूर्यमान आचार्य ,विमल किस्कू , राजेश किस्कू , मनोज मास्के , भारती तामाङ , लाक्पा शेर्पा , डिकबहादुर गुरुङ र दीपक गुरुङको परिवार विस्थापित भएका हुन् । विस्थापितहरुको घरमा क्षति पुगेकोले उनिहरुलाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

यस्तै, सोही खोलाले आज बिहान अन्दाजि १२ः४५ बजेको समयमा गौरादह-६ स्थित टंगुवा बस्तीमा पानी पसेर अन्दाजि २५ घर डुबानमा परेका छन् । बस्ती डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको र बस्तीमा अन्दाजि २ फिट जति पानी पसेको तर क्षति नभएको प्रहरी नायब उपरिक्षक पाठकले जानकारी दिनुभयो । पानी घट्ने क्रममा रहेकोले मानिसहरू आफ्नै घरमा रहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया