Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बिर्तामोड,१५ जेठ २०७९ । नेपाल प्रेस युनियनमा स्थापित टंकप्रसाद–रमादेवी स्मृति पत्रकारिता पुरस्कारबाट यो वर्ष गोविन्दचन्द्र क्षेत्रीलाई प्रदान गरिने भएको छ । प्रेस युनियनका केन्द्रीय पार्षद यज्ञप्रसाद पाठक र सकुन्तला पाठकले आफ्ना दिवंगत बुबा–आमाका नाममा नेपाल प्रेस युनियनमा स्थापित अक्षयकोषमार्फत छेत्रीलाई पुरस्कृत गर्न लागिएको हो ।

त्यसैगरी टंकप्रसाद र रमादेवीका छोरी ज्वाँई टिकादेवी पाठक र कृष्णकुमार संग्रौलाद्वारा स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट ज्योस्ना श्रेष्ठलाई पुरस्कृत गरिने भएको छ ।
लोकराज ढकालको संयोजकत्वमा संस्थाका तर्फबाट नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेली र दाता परिवारका तर्फबाट यज्ञप्रसाद पाठक सदस्य रहेको पुरस्कार छनौट समितिको बैठकले क्षेत्री र श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
क्षेत्री ४ दशकयता पत्रकारितामा सक्रिय छन् भने श्रेष्ठ एकदशक यता पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।

दाता परिवारले नेपाल प्रेस युनियनमा रहने गरी दुईवटा पुरस्कारका लागि १/१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको अध्यक्ष इन्दु पूर्वेलीले जानकारी दिनुभयो । सोही अक्षयकोषको ब्याज रकमबाट यसैवर्षदेखि बर्षेनी रुपमा वितरण गर्ने गरी पुरस्कारको स्थापना गरिएको कोषाध्यक्ष ओमप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी नेपाल प्रेस युनियन झापा शाखाको साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रम यही जेठ २१ गतेका लागि तय गरिएको छ ।
अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा आइतबार बसेको बैठकले जेठ २१ गते विर्तामोडमा संस्थाको साधारणसभा तथा पुरस्कार वितरणका लागि तयारी गरेको सचिव डिल्लीराम घोर्साईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया