Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १७ चैत २०७८ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ पनि आयोगले निगरानी गरिरहेकाले ख्याल गर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजले आज (बिहिबार) गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ख्याल गर्न आग्रह गर्नुभएको हो ।

सामाजिक सञ्जालमा निर्वाचनसम्बन्धी गतिविधि गर्दा र अभिव्यक्ति दिँदा ध्यान दिनसमेत उहाँले दलहरुको ध्यानाकर्षण गराउनुभयो । स्थानीय निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग हुनसक्ने तथा राजनीतिक दलका नेताहरूले दिने अभिव्यक्तिले आचारसंहिता उल्लंघन गर्ने होकि भन्नेमा आयोग सतर्क रहेको थपलियाको भनाइ छ ।

निर्वाचनका क्रममा सामाजिक सञ्जालमा आचारसंहिता अनुगमन गर्नका लागि आयोगको नेतृत्वमा गृहमन्त्रालय, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि र विज्ञहरू संलग्न रहेको टोली गठन गरिएको उहाँले बताउनुभयो । कानूनविज्ञ, राजनीतिक दलका प्रतिनिधि र सार्वजनिक आह्वान गरेर निर्वाचन आचारसंहिता तयार पारिएको भन्दै थपलियाले त्यसको पालना गर्न राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

आचारसंहिता तयार पार्ने बेलामा सत्तामा रहेकाले खुकुलो खोज्ने र प्रतिपक्षमा रहेकाले कडाई बनाउने खोज्ने भन्दै उहाँले राजनीतिक दलहरूले आफ्नो सहभागितामा तयार भएको आचारसंहिता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया