Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाण्डौ, १३ चैत २०७८ । कृषि समस्या समाधानका लागि नेपालमै पहिलो पटक एआईमा आधारित सफ्टवेयर सार्वजनिक भएको छ ।

आज आइतवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा महिला विकास समाजले सूचना प्रविधिमार्फत कृषि व्यवसायलाई सहज बनाउने डिभाइस (आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ‘साथी’नामक सफ्टवेयर सार्वजनिक गरेको हो । यो सफ्टवयरले किसानहरूले खेतीपाती गर्दा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई कृत्रिम बौद्धिकताको प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउनेछ ।

महिला विकास समाजकी संयोजक लचना हाडाले परम्परागत प्रविधिलाई पछ्याउने अभ्यासका साथै जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, अत्याधुनिक कृषि प्रविधिसम्बन्धी जानकारीको अभाव जस्ता कारण कमजोर बन्दै गएको नेपालको कृषि व्यवसायलाई पुनरुत्थान गर्न तथा किसानलाई सूचना प्रविधि उपलब्ध गराउन यो सफ्टव्यर उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस सफ्टवेयरबाट अब किसानले आफ्नो खेतरबारीको माटोको गुणस्तर, बालीनाली परीक्षणको नतिजा थाहा पाउन प्रयोगशाला धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

यो सप्टव्यर अहिले एन्ड्रोइडमा उपलब्ध रहे पनि चाँडै नै आईओएसमा पनि उपलब्ध हुने उहाँले बताउनुभयो । उहाँले यो सप्टवेयरले बालीनालीमा लाग्ने धान, मकै, गहुँ, केरा, आलु, गोलभेडा, जुट र कफी लगायतका २३ किसिमका बालीमा लागेको रोगको पहिचान पनि गर्ने बताउनुभयो ।

यो सफ्टवेयर सञ्चालनका लागि इन्टरनेट तथा क्लाउड पूर्वाधार नचाहिने भएकाले पनि हरेक किसानले सजिलै यसलाई प्रयोग गर्न सक्नेछन् । यो प्रविधि विकास गर्ने टोलीमा महिला विकास समितिअन्तर्गतको सक्रिय महिला प्राविधिकहरूको समूह ुइम्प्याक्टर्सु सूचना प्रविधि विज्ञ लचना हाडासहित १६ जना महिला विज्ञ सहभागी हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया