Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १२ चैत २०७८ । सर्लाहीको धन्कौल गाउँपालिका–५ मा भीषण आगलागी भएको छ । शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । एउटा घरमा आंशिक क्षति पुगेको छ ।

दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरु भएको प्रत्यक्षदर्शीको भनाइ छ । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो ।

आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिनुभयो ।

आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको हो । आगलागीको एकिन कारण नखुले पनि खाना पकाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ ।

आगलागी भएकै समयमा तीव्र गतिमा हावा चलेपछि नियन्त्रणमा आउन केही ढिला भएको र धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले बताउनुभयो । आगलागीबाट घरमा रहेका लत्ता कपडा र अन्नपात जलेर नष्ट भएको थियो ।

क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीपछि विपन्न पीडितहरूको बिचल्ली भएको छ । पीडितहरू छिमेकीको घरमा शरण लिएर बसेका छन् ।

 

तपाईको प्रतिक्रिया