Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

प्रदिप धमला
गौरादह, ११ चैत २०७८ । राजनीतिमा पुस्तान्तरणको शब्द सुन्दा राम्रो तर व्यवहार कठिन विषय हो । हरेक राजनीतिक पार्टीमा लामो समयदेखी पुस्तान्तरणको प्रश्न उठ्दै आएको छ । तर, व्यवहारमा त्यो सम्भव भएको छैन । यसका अनेका कारणहरु रहेका छन् । दुई तरिकाले पुस्तान्तरण सम्भव हुन्छ ।

एक संरचनागत प्रकृया, दुई पछिल्लो पुस्ताको हस्तक्षेपको भुमिका । यी दुई प्रकृयाबाट राजनीतिमा पुस्तान्तरण रुपान्तरण सम्भव रहेको छ । तर, नेपालमा यी दुई प्रकृया व्यवहारत प्रयोग हुन सकेन । यसका दुई फ्याक्टर छन् । एक गैरजिम्मेवार नेतृत्व, अर्को कमजोर पछिल्लो पुस्ता । अर्थात, नेतृत्व वर्ग पुस्ता हस्तान्तरणको लागि तयार छैनन् । पछिल्लो पुस्ता नेतृत्व हत्याउने ल्याकत नै राख्दैनन् ।

विश्वेश्वर कोईराला हुँदै शेरबहादुर देउवासम्म आईपुग्दा नेपाली काँग्रेसमा पाकाहरुकै रजगज छ । पुष्पलाल हुँदै प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र केपि ओलीसम्म आईपुग्दा कम्युनिष्टहरुमा पनि पछिल्लो पुस्ता बलियो छैन । नेपाली राजनीतिका यी मुख्य दुई धारमा अहिलेसम्म पाकाहरु नै निर्णयक छन् । अर्थात, पुस्तान्तरण असम्भव जस्तै बनेको छ । यसको मुख्य कारण संरचनागत रुपमा पुस्तान्तरणको परम्परा विकास हुन नसक्नु हो । प्रजातान्त्रिक राजनीतिक शक्तिहरुमा पनि राजा महाराजाहरु जस्तै अघिल्लो पुस्ताको सेखपछि मात्र पछिल्लो पुस्ता नेतृत्वमा पुग्ने गलत परम्परा छ । संरचनागत रुपमा नेतृत्व असम्भव जस्तै बनेको छ । चरण-चरणमा भएका राजनीतिक विद्रोहमार्फत फाट्टफुट्ट नेता उदाए । राणा र पंञ्चायतविरुद्धको विद्रोहमा होमिएकाहरु नै अहिले राजनीतिको केन्द्रमा छन् । त्यसपछि भएको प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध र जनआन्दोलनमार्फत स्थापित नेता मुल नेतृत्वको रुपमा विकास हुन सकेका छैनन् । पछिल्ला विद्रोह तथा आन्दोलनहरुबाट स्थापित नेताहरुले राजनीतिक नेतृत्व लिने समय अझै टाढा छ । किनकी, अहीले मुल नेतृत्व राजनीतिक सत्ता त्याग्न तयार छैनन् ।

पछिल्लो पुस्ताका नेताले सक्षम नेतृत्वको रुपमा आफुलाई स्थापित गरेर नेतृत्व हत्याउन सकेका छैनन्। पछिल्लो पुस्ता नेता भए, नेतृत्व भएनन् । एउटा जिम्मेवारी पाएपछि नेता हुन समस्या भएन । तर, जिम्मेवारी पाएर पनि स्पष्ट भिजन नहुँदा नेतृत्व बनेनन् । अघिल्लो पुस्ताको शरण पर्नुको विकल्प भएन । पछिल्लो पुस्ता स्वार्थहरुमा फसेका छन् । संघर्षको एउटा चरण पार गरेपछि स्वार्थहरुमा लिप्त भए । मुख्य नेतृत्वको लक्ष्यभेदन असम्भव देखिपछि बेलैमा राजनीतिक बैचारिक यात्रा त्यागे । सामान्य अवसर पाउनेवितिकै अन्तिम मौका ठाने । त्यसैमा सवै सम्भावनाहरु सके र भावी नेतृत्वको रुपमा आफ्नो यात्रा त्यही रोके, रोक्दैछन् । नैतिक रुपमा पतन भईसकेपछि अघिल्लो पुस्तालाई खवरदारी गर्न सक्दैनन् । पछिल्लो पुस्तालाई उचित मार्गनिदेशन गर्न सक्दैनन् । त्यसपछिको पुस्ता पनि दोस्रो पुस्ता जस्तै एक पछि अर्को गर्दै गलत यात्राका लागि तयार भए, हुदैछन् ।

नेपाली राजनीतिमा देखिएको दृश्य यो भन्दा फरक छैन । वर्तमान नेपाली राजनीतिको दोस्रो पुस्ता स्वार्थी छ । निहीत स्वार्थमा अघिल्लो पुस्ताका नेतृत्वलाई विभाजित गर्ने भूमिका यिनैले खेलेका छन् । दोस्रो पुस्ताकै स्वार्थमा हरेक पार्टीमा गुटहरु जन्मेका छन् । गुटकै आधारमा अवसरहरु उपभोग गर्ने मनस्थिति बलियो बनेको छ । विचार र सिद्धान्तको आधारमा यहाँका कुनैपनि राजनीतिक दल विभाजित छैनन् । स्वार्थकै आधारमा पार्टिभित्र समुहहरु बनेका छन् । नेतृत्व एकमत हुँदा स्वार्थ पूरा नहुने नभएपछि यिनै स्वार्थीहरुले दल विभाजनसम्मको यात्रा रोज्ने गरेका छन् । नेतृत्वमा विभाजन ल्याएर स्वार्थ पूरा गर्ने गलत परम्परा विकास हुँदा राजनीतिमा त्यागको भावना समाप्त हुँदै गएको छ । गलत परम्पराले नै निरन्तरता पाउँदै आएको छ । स्वार्थहरुमा बन्ने समूहले विचार र सिद्धान्त मुल ठान्दैन । स्वार्थपूर्ति महत्वपूर्ण मान्दछ । विचार र सिद्धान्तमा आधारित समूह अन्तिमसम्म अडिग रहन्छ तर, स्वार्थमा आधारित समूहले जुनसुकै बेला जे पनि गर्न सक्छ । त्यसको पछिल्लो उदाहरण नेकपा एमालेको दोस्रो पुस्ता हो । जुन पुस्ताले मुद्दाको लेपन लगाएर नेतृत्वमा विभाजन ल्यायो ।

अन्तिम समयमा आफुलाई पश्चगामी कित्तामै पुर्‍याए । जहाँ स्वार्थ पुरा हुने सम्भावना देख्यो । केपी शर्मा ‍ओलीले प्रतिगमन रोज्दा माधवकुमार नेपाललाई अगाडी सारेर दोस्रो पुस्ता अग्रगमनको पक्षमा उभियो । भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्टहरु प्रतिगमनविरुद्ब अग्रमोर्चामा देखिए । उनीहरुले नै ओलीसँग सकिन्न, नयाँ पार्टी खोलौ भन्दै माधवलाई उचाले । तर अन्तिम अवस्थामा यिनै पुस्ता ओली नै ठिक भन्ने ठाउँमा पुगे । अर्थात, माधवसँग लाग्दा स्वार्थ पुरा नहुने उनीहरुको बुझाई रह्यो । त्यसैले एकाएक ओली प्रतिगमन सच्चियो । माधवलाई उचाल्ने दोस्रो पुस्ता विचार र सिद्धान्तमा ईमानदार भएको भए प्रतिगमनको मतियार बन्न ओलीको शरण पर्ने थिएनन् । यसरी एमालेमा दोस्रो पुस्ता स्खलित भयो ।

माओवादीमा दोस्रो पुस्ता नै छैन भन्दा हुन्छ । प्रचण्ड पछिका नेता गुमनाम जस्तै छन् । जता हेरे पनि प्रचण्ड नै देखिन्छन् । प्रचण्डको सेपमा दोस्रो पुस्ता पहेलै भईसके । जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आउँदा माओवादीमा सम्भावनायुक्त नेताहरु एक से एक देखिन्थे । आशा लाग्दा नेता थुप्रै थिए । तर विचार, सिद्धान्त र आदर्शबाट एकपछि अर्को गर्दै सबै नेता च्यूत हुँदै जाँदा धेरै बदनाम भईसके । धेरै गुमनाम भईसके । टिकेर बसेका केही नेताले पनि नैतिकताको धरातल छोडिसके । दोस्रो पुस्ता एकपछि अर्को गर्दै बदनामीको कित्तामा गर्दै प्रचण्ड शक्तिशालि बन्दै गए । आज माओवादीमा यस्तो परिस्थिति बनेको छ कि फरक मत राख्ने हिम्मत कसैसँग छैन । प्रचण्डपछिको नेतृत्व राँको बालेर खोज्नुपर्ने बेला भएको छ ।

नेपाली काँग्रेसको महाधिवेशन सकिएर यसपटक पनि उनै पाका नेता शेरबहादुर देउवा नै नेतृत्वमा आएका छन् । दोस्रो पुस्ता मानिएका शशांक कोईराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतको हातमा यसपटक पनि काँग्रेसको नेतृत्व गएको छैन । विश्वप्रकाश शर्मा र गगन थापा चै पार्टीको महामन्त्रीसम्म बन्न सफल भएका छन् । अझै धेरै काँग्रेसमा पनि दोस्रो पुस्ता हस्तक्षेपकारी हुन सकेन । कुनै न कुनै रुपमा दोस्रो पुस्ता स्वार्थमै विभाजित भए । आफुलाई प्रजातन्त्रको हिमायती ठान्ने काँग्रेसमा प्रजातान्त्रिक अभ्यासको अवस्था लाजमर्दो छ । नेतृत्व हस्तान्तरण त कल्पना पनि छैन । नेतृत्व हस्तान्तरण प्रकृयागत रुपमा हुनुपर्छ । बलियो विधि र विधानको आधारमा बलियो थिति बस्नुपर्छ । त्यसका लागि दोस्रो पुस्ताको उपस्थिति हस्तक्षेपकारी हुनुपर्छ । सैद्धान्तिक वैचारिक रुपमा प्रतिवद्ध भएर ईमानदारपूर्वक दोस्रो पुस्ता हस्तक्षेपमा उत्रन सकेको भए आज नेतृत्व हस्तान्तरणको संस्थागत परम्परा विकास भईसकेको हुन्थ्यो तर नेपाली राजनीतिमा दोस्रो पुस्ता बारम्बार चुक्दैछन् ।

एमालेमा ७० वर्षे उमेर हदबन्दी लागू भयो । नेतृत्व हस्तान्तरण प्रकृयामा यो एउटा प्रारम्भ हुन्थ्यो । तर भीम रावल र घनश्यामहरु उमेर हदबन्दी राख्नु हुन्न भन्ने पक्षमा ओलीसँग एकमत भए । यस्तै अवस्था आए योगेश, घनश्यामहरुले लौरो टेक्दै नेतृत्व सम्हाल्नुबाहेक अरु विकल्प हुँदैन । नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरणका लागि ठुलो संघर्ष आवश्यक छ । तेस्रो पुस्ताको हस्तक्षेपकारी उपस्थितिमा त्यो सम्भव छ । दोस्रो पुस्ताबाट अब केही सम्भव छैन । उनिहरु जुन संस्कारबाट हुर्के सोहि संस्कारलाई परम्पराको रुपमा निरन्तरता दिन चाहान्छन् । उनीहरुबाट सम्भव छैन । उनीहरुकालागि स्वार्थपूर्ति नै महत्वपूर्ण बनिसक्यो । तेस्रो पुस्ताले विचार र सिद्धान्तलाई स्वार्थभन्दा माथि राखेर ईमान्दारपूर्वक आफुलाई उभ्याउने हो भने सम्भव छ । जुन पुस्ता दोस्रो पुस्ता डुबेको स्वार्थभन्दा धेरै टाढा हुनुपर्छ । आज माधवहरुलाई डोहोर्‍याउने रामकुमारीहरु भोली सिँगो राष्ट्र डोहोर्‍याउन सक्षम हुनेछिन ।

तपाईको प्रतिक्रिया