Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ९ चैत २०७८ । नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा पल शाहविरुद्ध परेको मुद्दामा जाहेरवालाको पक्षबाट नौ जनाले बहस गरेका छन् ।

बुधबारदेखि तनहुँ जिल्ला अदालतमा न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा जोहरवालाको पक्षमा दुई सरकारी वकिलसहित नौ जनाले बहस गरेका हुन् ।

जिल्ला अदालत तनहुँले बुधबार नै प्रतिवादीको बयान सकाएर बहस सुरु गरेको हो । अदालतमा मंगलबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि मंगलबार नै पलसँग बयान लिइएको छ ।

घटनामा मतियारको रूपमा पेश भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले जानकारी दिनुभयो ।

‘जाहेरवाला पक्षका नौ जनाको बहस सकियो,’ उहाँले भन्नुभयो, ‘प्रतिवादीको तर्फबाट तीन जनाले बहस गरेका छन् ।’

जाहेरवालाका तर्फबाट जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा, विपिनराज तिवारी, राधिका खतिवडा, दिपक रावल, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, शिवराज काफ्ले लगायतले बहस गरेका हुन् ।

तिम्ल्सिनाका अनुसार प्रतिवादीका तर्फबाट ११ जनाले बहस गर्नलाई वकालतनामा दर्ता गराएका छन् । प्रतिवादीतर्फबाट अधिवक्ता पर्शुराम गिरी, भानुभक्त सुवेदी, कमलामोहन वाग्लेले बुधबार बहस गरे । वाग्लेको बहस बिहीबार पनि निरन्तर हुनेछ ।

प्रतिवादीतर्फबाट तनहुँकै कानुन व्यवसायी यदु खनाल, यज्ञ राना लगायतले बिहीबार बहस गर्दैछन् । बाँकी बहस बिहीबार सुरुमै हुनेछ । बहस सकिएर बिहीबार थुनछेक आदेश आउन सक्ने तिम्लिसिनाले जानकारी दिनुभयो ।

‘बिहीबार नै बहस सकिएर आदेश आउन पनि सक्छ । नआउन पनि सक्छ, शुक्रबारसम्म पक्कै एउटा आदेश आउने सम्भावना छ’, उहाँले भन्नुभयो ।

वकालतनामा दर्ता गराएर जाहेरवाला र प्रतिवादको पक्षमा बहस गर्नेको संख्या बढ्न सक्ने भएकाले बहसको समय लम्बिन सक्ने तिम्लिसिनाले बताउनुभयो ।

उहाँका अनुसार बुधबार विहानसम्म दुवै पक्षका ६–६ जनाले वकालतनामा दर्ता गराएकोमा त्यो संख्या बढ्यो ।

बहस सकिएपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ । थुनछेक आदेशमा प्रतिववादीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरैबाट मुद्दा लड्न पाउने भन्ने तय हुनेछ ।

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले पलविरुद्ध मंगलबार मुद्दा दर्ता गराएको हो ।

१२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिव क्षतिपूर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ ।

पलले बालिकालाई जबरजस्ती करणी गरेको उजुरी तनहुँ ११ फागुनमा परेको थियो । त्यसको चार दिन पछि पल तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए ।

नवलपुर जिल्ला अदालतमा पनि गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्रदायर भएको हो ।

 

तपाईको प्रतिक्रिया