Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

प्रदिप धमला
गौरादह, २ चैत २०७८ । नेतृत्वको विषयलाई चर्चा गर्दा नेता र नेतृत्वमा के फरक छ नेतृत्व भनेको के हो नेतृत्व केका लागि भन्ने जस्ता प्रश्न आउँछन् । झट्ट सुन्दा हामी नेतृत्व भनेको राजनीतिक नेतालाई बुझ्छौ । हाम्रो चिन्तन र सोचाई राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको पाउँछौ । राजनीतिक नेताहरुले नीति बनाउने भएकाले उनीहरुको ठुलो महत्व छ । नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्दछ । तर त्यसो भए राजनीतिक नेतृत्व मात्रै नेतृत्व हो त ? पक्कै होईन । यो सापेक्ष विषय हो । कुनै घरमा बाबुले कुनै घरमा आमाले कसैको घरको ज्येष्ठ सदस्य वा कुनै घरमा सामूहिक निर्णय लिने चलन पनि हुन्छ ।

नेताको विम्वका रुपमा वीपी कोईराला, पुष्पलाल, मदन भण्डारी, गिरिजाप्रसाद कोईराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदिको नाम अगाडि आउँछ । तर कुनै पनि नामले हामीलाई रोमान्चित बनाउँन सक्दैन । कुनै समयमा बनायो होला । तर सधैं बनाईरहन सक्दो रहेनछ । सबल र सक्षम भनिएको नेतृत्व पनि हेर्दा हेर्दै धरासयी हुँदै रहेछ । यसबाट नेतृत्व भन्ने कुरा पनि सधैं रहिरहने होईन भन्ने थाहा पाउँन सकिन्छ ।

एडमण्ड हिलारीले एउटा अन्तर्वार्तामा शिखरको सबैभन्दा माथिल्लो उचाइमा पुग्नुको अर्को स्टेप भनेकै तल झर्नु हो भनेका थिए । नेतृत्वको विषयमा चर्चा गर्दा पनि यो कुरा लागू हुन्छ । त्यसैले नेतृत्व भनेको के हो भन्ने विषयमा आफैंमा त्यति सरल छैन । विश्व विद्यालयहरुमा पनि नेतृत्वको विषयमा पढाईन्छ । तर नेतृत्व र नेताका बारेमा बुझ्न निकै कठिन भईरहेको छ । एरिस्टोटल भन्छन् हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्दछौ । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा विषयहरु हुन्छन् । त्यस विषयमा निर्णय कसले लिन्छ ? त्यो निर्णय लिने व्यक्ति वा संस्था नै नेतृत्व हो ।

हामी नेतृत्व असफल भयो असफल भयो भनेर भनिरहेका छौं । असफल भयो भन्दा हामीले नेतृत्वलाई केही कामना गरिहेका हुन्छौ । समाज र नेतृत्वबिच बडो महत्वपूर्ण सम्बन्ध हुन्छ । समाज कस्तो छ त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । विश्वमा नाम चलेका जस्तो नेता यहाँ खोई भनेर मात्रै हुदैन । भाषण गने बेलामा नेपालमा यत्रो सम्भावना छ तर नेतृत्वले देखिरहेको छैन भन्छौ । नेपालमा यति समस्या छन तर नेतृत्वले सुल्झाउन सकेको छैन भनिन्छ । यस्तो भन्ने मानिसले के कल्पना गरिरहेको हुन्छ भने एउटा यस्तो बलवान शक्तिशाली आओस् र तपाईको समस्या समधान गरिदियोस् । कताकता नेतृत्वलाई हामीले दैवीगुणबाट सम्पन्न व्यक्तिका रुपमा अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र बल भएको चमत्कारिक व्यक्तिको गरिरहेका हुन्छौ । त्यसैले होला नेतृत्वको महत्वपूर्ण पक्षमा कुनै न कुनै कुरा गर्ने गराउने आधिकारिकता हुन्छ ।

राजनीतिमा जाने मान्छेले म व्यक्तिगत लाभ लिने छैन भन्न नसक्दा नै जनताले जुन जोगी आए पनि कानै चिरेका भन्ने अवस्था आएको हो । ४ वर्ष ५ वर्षमा निर्वाचन हुनुको अर्थ एउटा व्यक्ति निश्चित अवधिका लागि मात्रै पदमा जानु पर्छ भनेको हो । तर हामीकहाँ बीसौं वर्षसम्म पनि त्यही व्यक्तिले पद ओगटिरहेको हुन्छ । यस्तै कारण हाम्रो सार्वजनिक नीति फितलो भएको हो । जस्तो यातायात क्षेत्रको सिण्डिकेटको अन्य सार्वजनिक हितमा छ । तर नेतृत्वले व्यक्तिगत लाभ हेर्दा घोषणा भईसकेको सिण्डिकेट पनि अन्य हुन सकेन । समाजवाद उन्मुख नीति लिएको भए तापनि शिक्षा क्षेत्रमा लागु हुन सक्दैन रे । किनकी त्यहाँ पनि व्यक्तिगत हितकै कुरा छ । राजनीति गर्नेहरु लगानी कर्ता भएका छन् । राजनीतिमा पनि उनीहरुकै सन्तान नयाँ लगानीकर्ताको रुपमा आएका छन् । पैसा भएपछि राजनीतिमा स्थापीत हुन गाह्रो छैन । पार्टी कब्जाको मनस्थितिबाट राजनीति अगाडि बढेकाले पुस्तान्तरणको कुरा मैले यहाँ देखेको छैन । गएको २० वर्षमा राजनीतिमा प्रयोग भएका शब्दहरु लोकतान्त्रिक छैनन् । कब्जा, घेराबन्दीका कुरा आएका छन् । लोकतन्त्रमा पनि कब्जा भन्ने हुन्छ र ?

समाजलाई राजनीतिले डोर्‍याउनु पर्ने हो । तर समाज आफ्नो किसिमले र राजनीति आफ्नो किसिमले हिँडिरहेको छ । बसाईसराईको यत्रो समस्या छ । त्यसैले समाजमा परिरहेको असर बारे नेनृत्व मौन छ । वैदेशिक रोजगारीमा जानेले पठाएको आईफोन ट्याव बोक्ने तर उनीहरुको परिवारमा आएको विचलनको विषयमा नबोल्नु विडम्बना होईन र ? राजनीतिक पार्टीहरु पनि त्यही वैदेशिक रोजगारीमा जानेहरुको कमाईबाट चलेका छन् । परिवार टुटेको छ, केटाकेटीहरु ड्रग्समा फसेका छन्, विद्यालयमा राम्रोसंग पढ्न पाएका छैनन् । यसका बारेमा बोलेको खै ? समाज त्यहाँ छ, नेतृत्व चुनाव मात्रै जित्ने ध्याउन्नमा छ । समाजमा सकरात्मक परिवर्तन पनि नभएको होईन । तर, नेतृत्वले त्यस तर्फ ध्यान नदिदा त्यो परिवर्तनले विकृत रुप धारण गरेको छ । व्यक्तिगत केहीलाई नोकरी लगाउने कुरा गर्छन । तर सामूहिक रुपमा युवालाई नोकरी दिने कुरा गर्दैनन् । गाउँको एक दुईजनालाई नोकरी दिने काम नेतृत्वको होईन उसले सबैलाई नोकरी दिने नीतिमा बनाउँनु पर्दछ । देशभरीकै वेरोजगारीको विषयमा बोल्नु पर्‍यो ।

घोषणा पत्रमा त सबैलाई रोजगारीको व्यवस्था हुन्छ भनेर लेखिएको छ तर रोजगारीको नीतिमा छलफल पनि भएको पाईदैन । गल्फका युवाहरु कुनै कारणले फर्कनुपर्ने अवस्था आयो भने ठुलो समस्या आउन सक्छ । केही सिप त लिएर आउलान् त्यो भन्दा वढी त नैराश्यता नै ल्याउँछन् । यो विषयलाई बसैले वेवास्ता गरेका छन् । राजनीति मात्रै होईन सामाजिक नेतृत्वको पनि यता ध्यान गएको छैन । समाज आहत भयो कुण्ठग्रस्त भयो पीडामा पर्‍यो भने यो नेतृत्व सप्रेर बस्छ र ? यि मुद्दाहरुलाई सामाजिक आन्दोलनले राजनीतिसँग जोड्नुपर्दछ । त्यस्तो कुरा उठाउदा राजनीति गर्‍यो भनिन्छ । कुनै दलमा नलागेर सामूहिक काम गरिसकेपछि त गैसस भैहाल्यो नि । राज्यको आफ्नो चुनौती हुन्छ । राज्य जति माथि जान्छ त्यति अन्धो हुँदै जान्छ ।

अहिलेको सरकार भ्रष्ट किन भन्नु पर्छ भने उसँग निरपेक्ष पावर छ । सरकारको मात्रै कुरा होईन सामाजिक समुहहरुको नेतृत्वमा पनि रुखोपन आएको छ । हामी त निर्वाचित भएर आएका हौँ । त्यसैले हाम्रो कुरा सुन भन्छन् । विगत लामो समयदेखीको नेपालको राजनीति हेर्दा आशलाग्दो हुन सकेको छैन भने विश्वास गर्न लायक पनि बन्न सकेको छैन । राजनीति गर्ने मुहार फेरिए तापनि व्यवहार फेरिन सकेको छैन । राजनीतिमा मुहारको खासै अर्थ हुदैन त्यहाँ त जनताको लागि काम गर्नुका साथै देशको हितमा काम गर्नु पर्दछ । हाम्रा छिमेकी देश लगायत अन्य देशका नेताले देश र जनताको सेवामा लागेको कारण आज ति देश सम्पन्न भएका छन भने हाम्रा देशका नेताले आफ्नो र आफ्ना नजिकका मानिसको लागि मात्रै गर्ने परिपाटीले सिमित व्यक्तिको मात्रै विकास भयो । देशको विकास गर्ने त भाषणमै सिमित हुन्छ । नेता सुधारिने पक्षमा छैनन् अव जनता आफैं सचेत हुनुपर्छ ।

तपाईको प्रतिक्रिया