Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २६ फागुन २०७८ । झापाको विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरीमा संलग्न रहँदै आएका ६ जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न ६ जना अभियुक्तलाई बिहिबार(आज) सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा भद्रपुर नगरपालिका-७ का २१ वर्षिय प्रकाश सहनी, २४ वर्षिय प्रकाश दर्जी, २१ वर्षिय दिपक उराउ, २२ वर्षिय दिपेश राजवंशी, ३० वर्षिय बिर्ख लिम्बु र भारत किसनगंज बिरखोर घर भइ भद्रपुर नगरपालिका-६ मा समिम ग्यारेजका संचालक १९ वर्षिय मोहम्मद समिम रहेका छन् । पक्राउ पर्ने सहनीले मोटरसाइकल चोरी गरी बिक्री वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा उनको पिछा गर्दा २३ गते सोमबार बिर्तामोड स्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ्ग गरी राखेको लु.८३ प. ३५४४ NS200 पल्सर मोटरसाइकल चोरी गर्दै भाग्दै गरेको अवस्थामा पक्राउ गरि सोधपुछ गर्दा विभिन्न मिति र स्थानबाट ७ वटा मोटरसाइकलहरु चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्य अभियुक्तहरुको संलग्नतामा चोरी गरेको सहनीले स्वीकारेका छन् ।

पक्राउ परेका दर्जी र उराउले विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बेचबिखन गर्ने ठाउँ सम्म पुर्याउने गर्दै आएका थिए । पक्राउ परेका लिम्बुले विभिन्न स्थानबाट चोरी गरी ल्याएको मोटरसाइकल अन्य व्यक्तिलाई मुल्य निर्धारण गर्ने भुमिका खेल्दै आएको र समिमले विभिन्न स्थानबाट चोरी गरी ल्याएको मोटरसाइकलको पाठपुर्जा, नम्बर प्लेट परिवर्तन गरी अन्य व्यक्तिहरुलाई बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।

झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरीको घट्ना अत्याधिक मात्रामा बढेको र सवारी धनीहरुले मोटरसाइकल चोरीको निवेदन दिएका कारण चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निगरानी गर्दै जाँदा मोटरसाइकल चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया