Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २३ फागुन २०७८ । तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिनुभयो । उहाँले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने बताउनुभयो । यस्तै, माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३ सय ४४ जनाको केन्द्रीय कमिटी बनाएको सो पार्टीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने छ । प्रदेश १ को इञ्चार्जमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ ।

यस्तै, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको छ । सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।

बैठकलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले बैठक वस्तुवादी निर्णय गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले पार्टी एकता संकटमा पर्ने हो कि भन्ने चिन्ता अन्त्य गर्न सफल भएको जिकिर समेत गर्नुभयो ।

प्रचण्डले माओवादी केन्द्रमाथि वैचारिक राजनीति र राजनीतिक मुद्दाका कारणले आक्रमण हुने गरेको उल्लेख गर्नुभयो । उहाँले चुनाव केन्द्रित भएर गए देशको राजनीतिमा मुख्य भूमिका खेल्ने शक्ति बन्न सम्भव रहेको दाबी गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया