Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २२ फागुन २०७८ । धरानको एक होटलमा महिलालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। धरान- १८ बुद्धचोकस्थित एक होटलको १०९ नम्बरको कोठामा ३९ वर्षकी सुमित्रा तामाङ मृत फेला परेकी थिइन्।

उनको हत्या भएको आशंकामा प्रहरीले हत्यामा संलग्नलाई खोजि गरेको थियो। तामाङ मृत फेला परेको पाँच दिनपछि उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका-६ फलाटे घर भएका २४ वर्षका दिनेश राना मगरलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले महिला हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए। दिनेशलाई प्रहरीले छगर जोरपाटी गाउँपालिकास्थित उनको ससुरालीबाट पक्राउ गरेको हो।

दिनेश केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गर्थे। त्यसबेला तामाङसँग भेट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पछिल्लो समय दिनेश डोजरको सहचालक थिए। उनी भोजपुर बस्न थालेका थिए। यसबीचमा दिनेश र सुमित्राको सम्बन्धमा खटपट आएको हुन सक्ने प्रहरीको अनुमान छ।

पक्राउ परेका दिनेशलाई धरान ल्याइँदैछ। आज पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत बताउने तयारीमा प्रहरी छ। गत मंगलबार धरानको एक होटलमा पाँचथर मिक्लाजुङ-१ की ३९ वर्षीया तामाङ मृत फेला परेकी थिइन्। उनी केही वर्षदेखि इटहरी-५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन्।

 

तपाईको प्रतिक्रिया