Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बारा, २१ फागुन २०७८ । मतदान जारी रहेको बेला विवाद भएपछि नेपाली कांग्रेस बाराको निर्वाचन रद्द गरिएको छ । कलैयाको सिद्धेश्वर संस्कृत माविमा शनिबार भएको निर्वाचनमा मतपत्र कब्जामा लिएर फर्जी मत खसाल्न थालिएपछि निर्वाचन नै रद्द गरी सबै मतपत्र जलाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जनाए ।

मतदान स्थलमा नाराबाजीसँगै प्रदर्शन भएको छ । पुनस् मतदानको लागि आइतबार बैठक बसेर तय गरिने प्रमुख निर्वाचन अधिकृत उप्रेतीले बताए । उनकाअनुसार २ नम्बर निर्वाचन क्षेत्रको ४ वटा बुथमा फर्जी मत खसेपछि अनुगमनको क्रममा अमर्यादित क्रियाकलाप पाइएको हो ।

तयारी अपुग, मतदान स्थलकहाँ तोक्ने र मतपत्र छाप्न ढिलाइ भएकोले मतदान दिउँसो १ बजेदेखि सुरु भएको थियो । पदाधिकारीसहित ८० पदका लागि २ सय २७ जना प्रतिस्पर्धा छन् । कुल मतदाता २ हजार ४ सय ८१ मध्ये १ हजार ३ सय मत खसेको थियो ।

‘इन्ट्री गरेको मतपत्रभन्दा बढी मतपत्रखसेको (बाहिरबाट ल्याइएको) पाइयो,’ उनले भने, ‘अमर्यादित हुन थालेपछि उत्छृंखल मच्चाउने धेरै भए, त्यसैले सुरक्षाकर्मीको सहयोग र उम्मेदवारको सल्लाहमा सबै मतपत्र जलाइएको छ ।’ यसबारे केन्द्रीय निर्वाचन समितिमा जानकारी गराइसकिएको उनले बताए । ‘कुन पक्षले मतपत्र कब्जा गरे भनेर एकिन हुन सकेको छैन्,’ उनले भने । यहाँ जिल्ला नेतृत्वको लागि पहिलोपटक समावेशी प्रतिस्पर्धा भइरहेको छ ।

सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन भड्किलो, खर्चिलो भएको छ । सबै उम्मेदवारले भोजभतेरदेखि प्रचारप्रसारमा व्यापक खर्च गरेको देखिएको छ । तीनै उम्मेदवारले आ–आफ्नो जित हुने दाबी गरेका छन् । संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय गरी दुई जनाले उम्मेदवारी दिएका छन् । शेखर कोइराला र कृष्ण सिटौलाको समूहको समर्थनमा रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् । उनीहरु प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया