Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

फ्यानहरूलाई चासो हुनु स्वाभाविक हो, अभिनेताहरू फिल्म खेलेबापत कति पारिश्रमिक लिन्छन् ? लिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन् । अमिताभ बच्चनदेखि सलमान, शाहरुख र आमिर खान अनि रणवीर कपुर र ऋतिक रोशनलगायत चर्चित अभिनेताले फिल्मबाट लिने पारिश्रमिक कम छैन । आखिर कसले कति लिन्छन् ?
आमिर खान
आमिर खानले चाहे भने बलिउडमा ५० देखि ६० करोड रुपैयाँसम्म पारिश्रमिक लिन सक्छन् । तर, उनी पारिश्रमिकभन्दा फिल्मको मुनाफाबाट बढी कमाउँछन् । फिल्म बनाउँदा उनी प्रायः ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘दंगल’ फिल्मबाट उनले एक सय ५० करोड रुपैयाँभन्दा बढी कमाए । आमिरलाई थाहा हुन्छ कि उनको फिल्म ‘हिट’ हुन्छ, त्यसैले उनी पारिश्रमिकको सट्टा साझेदारीमा बढी जोड दिन्छन् ।
सलमान खान पनि फिल्मको कमाइबाट केही हिस्सा लिने गर्छन् । उनी आफूले अभिनय गर्ने फिल्ममा ७० देखि ८५ प्रतिशतसम्म हिस्सा लिन्छन् । ‘सुल्तान’बाट उनले सय करोडभन्दा धेरै कमाएका थिए । कुनै फिल्ममा केवल पारिश्रमिकका लागि मात्रै लिए भने ६० करोड रुपैयाँभन्दा बढीमा सम्झौता गर्छन् ।
रणवीर सिंह
‘बाजीराव मस्तानी’ खेल्नुभन्दा पहिले रणवीर सिंहले एउटा फिल्मको पारिश्रमिक तीनदेखि पाँच करोड भारु लिन्थे । तर, बाजिराव मस्तानीको सफलतासँगै उनको अभिनयको मूल्य बढ्यो । यसपछि उनको पारिश्रमिक तीन गुणाले बढ्यो । अहिले उनी एउटा फिल्मका लागि १० करोड रुपैयाँ लिन्छन् ।

अमिताभ बच्चन
अमिताभ बच्चन उमेरले ७५ वर्ष पुगिसके । तर, बलिउडका कुनै युवा अभिनेताको भन्दा कमजोर छैन, उनको अभिनय । उनको माग र पारिश्रमिक पनि चलेकै युवा अभिनेताको हाराहारीमा छ । फिल्ममा कति लामो भूमिका हुन्छ, त्यसैअनुसार उनले पारिश्रमिक लिने गर्छन् । मोटामोटी उनले एउटा फिल्म खेलेबापत १२ देखि १५ करोड रुपैयाँ लिन्छन् ।
शाहरुख खान
शाहरुख खानको पारिश्रमिक फिल्मअनुसार घटी–बढी हुन सक्छ । करण जौहर या आदित्य चोपडाको फिल्म गर्दा उनी पारिश्रमिकमा ‘बार्गे्निङ’ गर्दैनथे । जति दियो उति नै लिन्थे । तर, अन्य फिल्ममा भने शाहरुख ४० देखि ४५ करोड रुपैयाँसम्म लिन्छन् । उनी पनि आमिरझैँ फिल्मको मुनाफाको हिस्सा लिन रुचाउँछन् । आफ्नो फिल्मको मार्के्टिङ गरेबापत पनि उनी करोडौँ रुपैयाँ कमाउँछन् । कैयौँ फिल्ममा उनले सय करोडभन्दा बढी कमाएका छन् ।

ऋतिक रोशन
ऋतिक रोशन निकै कम फिल्ममा जिम्मा लिने अभिनेतामा पर्छन् । उनी कम फिल्म खेल्छन्, तर पारिश्रमिक चर्को लिन्छन् । एउटा फिल्मबाट उनी औसतमा ३० देखि ४० करोड रुपैयाँ लिन्छन् । कुनै फिल्ममा उनले योभन्दा धेरै पारिश्रमिक लिएका पनि छन् ।
अजय देवगन
अजय देवगन फिल्मको बजेटअनुसार आफ्नो पारिश्रमिक कम या बढी लिने अभिनेतामा पर्छन् । तर, कम्तीमा ३० करोड उनले लिएकै हुन्छन् । ३० देखि ४० करोड रुपैयाँ उनको औसत रेट हो ।
अक्षयकुमार
पारिश्रमिक लिने सवालमा अक्षयकुमार सबैभन्दा अगाडि छन् । उनी ४० देखि ५० करोड रुपैयाँसम्म लिन्छन् । कुनै–कुनै फिल्ममा नाफाको हिस्सा लिने गरी सम्झौता पनि गर्छन् । ‘जोली एलएलबी २’ मा उनले पारिश्रमिकबाहेक मुनाफा हिस्सा पनि लिएका थिए । यो फिल्मबाट उनले कुल ५५ करोड रुपैयाँ कमाइ गरेका थिए ।
वरुण धवन
वरुण धवनले अहिलेसम्म आधा दर्जनभन्दा बढी फिल्म खेलिसके । उनका कुनै पनि फिल्म घाटामा गएका छैनन् । धेरै फिल्ममा उनले पाँचदेखि सात करोड रुपैयाँ पारिश्रमिक लिए । तर, ‘बद्रीनाथ कि दुल्हनिया’पछि उनको पारिश्रमिक ह्वात्तै बढेर १० देखि १२ करोड रुपैयाँ पुगेको छ ।
रणवीर कपुर
रणवीर कपुरका कैयौँ फिल्म फ्लप भएका छन् । तर, फिल्म फ्लप भए पनि रणवीर कहिल्यै फ्लप भएनन् । बलिउडमा उनको माग कहिल्यै कम भएको छैन । उनको पारिश्रमिक पनि राम्रो छ । एउटा फिल्मको उनी २० देखि २५ करोड रुपैयाँसम्म लिन्छन् । एजेन्सी

तपाईको प्रतिक्रिया