Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

काठमाडौं, १९ फागुन २०७८। नेपालमा कुल जनसङ्ख्याको १८ प्रतिशतमा जनसङ्ख्यामा कानको समस्या रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य शाखाले गरेको सर्भेमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

शाखाले ७ प्रदेशको २८ जिल्लाका समुदाय र विद्यालयका कुल १७ हजार ५९ जनामा गरिएको राष्ट्रिय बेसलाइन सर्भेमा कानको रोग तथा समस्या भएका कुल जनसङ्ख्या १८.८ प्रतिशत रहेको देखिएको छ ।

उक्त सर्भेमा सबैभन्दा बढी कानको समस्या लुम्बिनी प्रदेश देखिएको छ । उक्त प्रदेशमा २४.८ प्रतिशत जनता कानको समस्या रहेको छ । उक्त सर्भेले कानको समस्या मुस्लिम धर्मावलम्बीमा बढी देखिएको छ । त्यस्तै १८ वर्ष मुनिका अर्थात् विद्यालय उमेरकामा १.२२ गुणा जोखिम बढी देखिएको छ । पुरुषभन्दा महिलामा जोखिम ०.९४ गुणा बढी छ ।

उक्त सर्भेमा कानेगुजी भएर समस्या भएका ४८ प्रतिशत, अ‍ेटाईटिस मेडिया भएका १२.८ प्रतिशत रहेका छन् । नेपालमा विद्यालय उमेरका बालबालिकामा श्रवण शक्तिको समस्या ५.७३ प्रतिशतमा पाइएको छ । वैशाख र साउनमा दुई चरणमा गरेको उक्त सर्भेको विस्तृत विश्लेषण दुई महिनामा आउने आंकलन शाखाले गरेको छ । जनगणना २०६८ मा अपाङ्गता भएकामध्ये १५.४ प्रतिशत श्रवणसम्बन्धी र ११.५ प्रतिशत बोलीसम्बन्धी समस्या थियो ।

के छ विश्वको अवस्था ?
विश्वमा पाँच जनामध्ये एक जनामा श्रवणशक्ति गुम्ने गर्दछ । २०२१ मा सार्वजनिक गरिएको त्थयाङ्कमा विश्वमा १।५७ बिलिनिन मानिसमा श्रवणशक्ति गुमेको छ । कानमा समस्या भएकामध्ये ३१ प्रतिशतलाई सङ्क्रमणको कारणले गर्दा हुने गर्दछ । १७ प्रतिशलाई जन्ममा समस्या भएको बच्चा, समय अगावै जन्मिएको बच्चा र जन्मदा कम तौलभएको बच्चामा कानको समस्या हुने गर्दछ । चार प्रतिशतलाई अटोटोक्सिस औषधि र आठ प्रतिशतलाई अन्य कारणले गर्दा कानको समस्या हुने गर्दछ । कानको समस्या भएको ६० प्रतिशत उचार हुनेहुन्छ । ४० प्रतिशत समस्याको उपचारनै हुँदैन ।

कानको समस्या हुनुको कारण
एलर्जी राइनाईटिस, दम, धुम्रपान, मदिरा, लामोसमय अस्पताल भर्ना तथा लामोसमय चर्को ध्वनिका कारणले गर्दा कानमा समस्या आउने चिकित्सक बताउँछन् ।

आँखा, नाक, कान घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा। प्रकाश बुढाथोकीका अनुसार कानको सङ्क्रमणको समयमै उपचारको पहुँच नहुनु, प्राथमिक उपचार तथा जनचेतनामा कमी र बढ्दो चर्को ध्वनि हुन् । मानिसको उमेर बढ्दै गएपछि कानको समस्या देखिने गरेको उहाँको भनाइ छ । डा. बुढाथोकीका अनुसार मनिसको बढ्दो उमेर दरलेसमेत कानमा समस्या देखिने गरेको छ । बच्चा जन्मेदेखि सुरुमै कानको परीक्षण तथा श्रवण परीक्षण गर्नसके ६० प्रतिशत श्रवण अशक्तता रोक्न सकिने बुढाथोकीको भनाइ छ ।

विश्व श्रवण दिवस
आज मार्च ३, विश्व श्रवण दिवस मनाइँदै छ । नेपालमा पनि हरेक वर्ष जस्तै यो वर्ष ‘जीवनभर सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारासहित विश्व श्रवण दिवस मनाइँदै छ । दिवसको अवसरमा बिहीबार काठमाडौंमा प्रभातफेरि भएको छ । बिहान मन्त्रालयको प्रागंणबाट सुरु भएर भद्रकाली मन्दिरको परिक्रमा गरेर प्रभात फेरि कोणसभामा परिणत भएको हो ।

स्वास्थ्य मन्त्रालयले चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्न आफैँ अग्रसर हुनुपर्नेमा जोड दिएको छ । श्रवण शक्तिको कमीका कारण आउने स्वास्थ्य समस्याबारे खुलेर कुरा गर्न स्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

कम श्रवण शक्तिका लक्षण
अरुको कुरा नबुझेर बारम्बार कुरा सोधिरहनु,
टेलिफोनमा कुरा गर्न गाह्रो हुनु,
चराचुरुङ्गीको आवाज नसुन्नु,
कान कराउनु,
बोलेको सुन्नु तर नबुझ्नु,
अरुसँग कुरा गर्दा ठूलो स्वरले बोल्नु,
रेडियो र टेलिभिजन चर्को आवाज बनाउनु ।

श्रवण शक्ति कम हुन नदिने उपाए
चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास (इयर प्लग)को प्रयोग गर्ने,
मोबाइल फोनमा लामो समय कुरा नगर्ने,
हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्ने,
जथाभावी सवारी साधनको हर्न नबजाउने,
ठूलो आवाज भएको ठाँउमा लामो समयसम्म नबसौं ।
गोरखापत्रबाट

 

तपाईको प्रतिक्रिया