Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १७ फागुन २०७८ । झापाको कमल गाउँपालिका-१ सरङपाडाका विपन्न एक परिवारलाई नेपाली कांग्रेसले घर बनाइदिने भएको छ। कांग्रेसको १ नम्बर वडा समितिको पहलमा स्थानीय मणिराम न्यौपानेको पक्की घर निर्माण हुने भएको हो।

दैनिक जनमन गरेर जीविकोपार्जन गर्दै आएका न्यौपानेको घर मंगलबार शिलान्यास गरिएको छ। कांग्रेसका क्रियाशील सदस्य र शुभेच्छुकहरुसंग सहयोग संकलन गरी घर निर्माण गरिने निर्माण समितिका संयोजक फणीन्द्र भण्डारीले जानकारी दिए।

शौचालय र बाथरुमसहित दुई कोठे घर आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने भण्डारीले जनाए। आर्थिक अवस्था कमजोर रहेका ६० बर्षीय न्यौपानेका श्रीमती र दुई छोरी रहेका छन्। न्यौपाने दम्पती नै श्रवणशक्ति शून्य (कान नसुन्ने) अवस्थामा छन्। घर शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस झापा ५ (क) का सभापति जीवनकुमार राईले दीनदुःखीहरुको सहयोगमा लागिपरे मात्रै वीपीले परिकल्पना गरेको समाजवादले सार्थकता पाउने बताए।

कमल-१ का वार्ड सभापति भीष्म सुबेदीले भाषणमा सीमित नभएर जनउत्थानमा समर्पित हुन सक्नु नै कांग्रेसको चिनारी भएको बताए।कार्यक्रममा कांग्रेस झापा-५ का सभापति ढुण्डिराज भण्डारीले गरिबीका रेखा मुनि रहेका नागरिकलाई राज्यले नीति बनाएरै संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्नु दुस्खदायी भएको बताए।

शिलान्यास कार्यक्रममा कमल गाउँपालिका-१ का वडाध्यक्ष केदार कटुवाल, कांग्रेस झापा-५ (ख) का सभापति रवि केसीलगायतको उपस्थिति रहेको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया