चेतना गुरागाईं

 काठमाडौं, २७ कात्तिक । अलिअलि आँट मान्छेले जन्मजात लिएर आएका हुन्छन्। अलिअलि आँट हुर्काइले दिन्छ। अनि, अलिअलि आँट सिकाइले।

सिन्धुपाल्चोकका यी किशोरीहरू जन्मजात आँटिलै हुन्।

नौ–दस कक्षा पढ्ने उनीहरू आफूले देखेको यौनहिंसा र दुर्व्यबहारबारे फर्रर विस्तार लाउँछन्। महिनावारी हुँदा छोइछाइ गर्नु हुँदैन भनेर खुलेरै बोल्छन्। र, स्कुलका कुनै शिक्षकले शरीर सुम्सुम्याउन खोज्दा ‘तपाईं मुख चलाउनुस्, हात होइन’ भनेर हाकाहाकी जवाफ फर्काउछन्।

हामी कुरा गर्दैछौं, सिन्धुपाल्चोकका विभिन्न स्कुलमा पढ्ने १० जना किशोरीको, जो तिहारअघि एक कार्यशालामा भाग लिन काठमाडौं आएका थिए।

उनीहरूको आँटले यही उमेरका सबै केटीको पक्कै प्रतिनिधित्व गर्दैन। तर, उनीहरूको बुझाइ धेरै जानेबुझेकाहरूको भन्दा गहिरो छ भन्ने अवश्य दर्शाउँछ।

इन्द्रावती गाउँपालिकाकी सुनमाया तामाङले आफ्नो स्कुलको एउटा घटना सुनाइन्।

उनको कक्षामा एक जना शिक्षक विद्यार्थीलाई अनाहक पिट्थे। खासगरी छात्राहरूलाई। पिट्ने नाममा उनी केटीहरूको शरीर छुन र सुम्सुम्याउन खोज्छन् भन्ने त्यहाँका छात्राले राम्ररी बुझेका थिए।

एकदिन ती शिक्षकले सुनमायालाई छुन खोजेछन्।

आँटिली सुनमायाले भनिछन्, ‘सर मलाई ‘टच’ नगर्नू। केही भन्नुछ भने मुखले भन्नू, छुने होइन।’

पहिलोचोटि छात्राको यस्तो प्रतिकारले शिक्षक झस्के।

‘त्यो दिनपछि उहाँले हामी केटीहरू कसैलाई छुनुभएको छैन,’ सुनमायाले कार्यशालाबीच सेतोपाटीसँग भनिन्, ‘एकचोटि भन्दा नमानेको भए म हेडसरकहाँ जान्थेँ।’

सुनमाया अलिअलि आँटिली त पहिल्यैदेखि हो। सबैसँग मुखामुख लाग्ने हुँदा धेरैले उनलाई ‘छुच्ची’ भन्छन्। आफूमाथि हुनसक्ने दुव्र्यवहार खुट्टयाएर प्रतिकार गर्ने आँट भने उनलाई यस्तै कार्यशाला र तालिमले दिएको हो।

‘हर टर्न’ ९हाम्रो पालो० नामक संस्थाले सिन्धुपाल्चोक, गोरखा र जुम्ला जिल्लाका विभिन्न स्कुले किशोरी–किशोरहरूलाई महिला स्वास्थ्य, सरसफाइ र यौनहिंसा नियन्त्रणसम्बन्धी तालिम दिँदै आएको छ। यौनहिंसा र दुव्र्यवहार कसरी चिन्ने र कसरी बच्ने भन्ने तालिमको मुख्य विषयमा पर्छ।

यही तालिममा भाग लिएपछि यौनहिंसा र महिलासँग सम्बन्धित अन्य मुद्दामा खुलेर बोल्ने आँट बढेको सुनमाया लगायत कार्यशालामा सहभागी अन्य किशोरी बताउँछन्।

‘पहिले त मलाई पनि सरले गरेको ठिकै होला भन्ने लाग्थ्यो। उहाँले माया गर्नुभएको होला भन्ठान्थेँ। उहाँ यसै खुरुखुरु हिँड्दा पनि केटीहरूलाई छुँदै, मुसार्दै हिँड्नुहुन्थ्यो। अरू साथीहरूले पनि यो सरले त मलाई यस्तो गर्यो भनेर सुनाउँथे,’ १० कक्षा पढ्ने सुनमायाले भनिन्, ‘हाम्रो पालोको तालिममा भाग लिएपछि उहाँको व्यवहार ठिक होइन रहेछ भन्ने थाहा पाएँ। प्रतिकार गर्ने आँट आयो।’

अहिले सुनमायालाई आफ्नो शरीरमा कसैले हात लगाएको मन पर्दैन। साथीभाइ वा ठूलाबडाले छुँदा पनि नियत पर्गेल्न जानेकी छन्। शारीरिक छुवाइ सकारात्मक र नकारात्मक दुवै हुन सक्छ भन्ने बुझेकी छन्।

‘कसैले स्याबास भनेर काँधमा धाप मार्छ भने ठिक छ। त्यही स्याबास भन्ने नाममा ढाड मुसार्न थाल्छ भने गलत हो,’ उनले विस्तार लाउँदै भनिन्, ‘कुनै साथीले हात मिलाउँछ भने ठिक छ। केटा र केटी हात मिलाउनु गलत होइन। त्यही हात मिलाउने नाममा कोही हात अँठ्याएको अँठ्यायै गर्छ वा आफ्नो औंलाले हाम्रो हत्केला चिमोट्न खोज्छ वा हामीलाई आफूतिर तान्छ भने त्यो गलत हो। यसको तुरुन्तै प्रतिकार गर्नुपर्छ।’

यति मात्र होइन, ठूलाबडाले माया गर्ने नाममा अप्ठ्यारो पर्ने गरी काखमा राख्न खोज्छ भने त्यो पनि दुव्र्यवहार भएको उनले बताइन्।

यो सिकाइले सुनमाया कतिसम्म आँटिली भइसकिन् भने, उनी केही समयअघि यस्तै कार्यशालामा भाग लिन सिन्धुपाल्चोकबाट एक्लै पोखरा गइन्। त्यो उनको पहिलो एकल यात्रा थियो। यसपालि काठमाडौं पनि एक्लै आएकी हुन्।

‘पोखरासम्म एक्लै जान डर लागेन?’

‘अलिअलि त लाग्यो, तर आँटेपछि डर भाग्दो रहेछ,’ उनले यात्रा अनुभव सुनाइन्, ‘म माइक्रोमा गएकी थिएँ। बाटोमा एक–दुई जनाले ‘यति सानो मान्छे, कहाँ एक्लै हिँडेको?’ भनेर सोधे। मेरो जवाफ सुनेपछि भन्थे– सानो मान्छे भनेको त चलाख पो रैछ।’

‘हामी केटीहरूको मुख्य समस्या नै बोल्न डराउनु हो। जसले जे भन्दा पनि चुपो लागेर बस्यो भने हेप्ने र दुव्र्यवहार गर्नेहरू त्यसै हौसिँदा रहेछन्। आँटेर प्रतिकार गर्यो भने मै हुँ भन्नेहरू पनि आधा त्यसै गल्छन्,’ १५ वर्षीया सुनमायाले भनिन्।

कार्यशालामा सहभागी प्रमिला विश्वकर्मा त केटाहरूको हेराइबाटै नियत आकलन गर्न सकिने बताउँछिन्।

कसरी?

उनका अनुसार दुराचारको नियतमा हेराइ फरक हुन्छ।

‘त्यस्ता मान्छे काम न काज एकोहोरो हेरेका हेर्यै गर्छन्। अर्कालाई खाउँलाजस्तो गरेर किन हेरिरहनु त हैन?’ कक्षा १० पढ्ने उनले भनिन्, ‘मनमा खराबी छ भने ऊ कसरी हुन्छ हाम्रो नजिक आऊँ, कसरी हाम्रो शरीर छोऊँ भन्ने ध्याउन्नमा हुन्छ।’

‘असल नियत राख्ने साथीभाइ वा शिक्षकहरूको व्यवहार त्यस्तो हुँदैन। गफ गर्ने तरिकै बेग्लै हुन्छ। उनीहरू सिधा हाम्रो आँखामा हेरेर कुरा गर्छन्। जो कुरा गर्दागर्दै आफ्नो आँखा हाम्रो शरीरतिर डुलाउन थाल्छ, उसको नियतमा खोट छ भन्ने यसै छुट्टिन्छ,’ उनले भनिन्।

केटीहरूको पहिरनमा अनावश्यक टिप्पणी र शारीरिक गुणको अनावश्यक प्रशंसालाई पनि उनी दुव्र्यवहारकै श्रेणीमा राखेर हेर्नुपर्ने बताउँछिन्।

‘तिमीलाई यो लुगा कस्तो सुहाएको, कपाल बाटेको कति राम्रो देखिएको हगि भन्ने खालका मान्छे हुन्छन् नि१ हामीले त्यस्ता मान्छेको नियत खुट्टयाउन सक्नुपर्छ। उसको नियत ठिक भए एकचोटि भन्छ, चुपो लाग्छ। बारम्बार उही कुरो दोहोर्यायो भने उसको मन पापी हुनसक्छ। हामी सजग हुनुपर्छ,’ उनले अर्थ लगाइन्।

यस्तो सिकाइले मात्र सुनमाया र प्रमिलालाई सम्भावित यौनहिंसाबाट जोगाउँछ भन्ने छैन। यो एउटा हतियार मात्र हो, जसले उनीहरूलाई आफूतिर सोझिएका कुदृष्टि र कुस्पर्श पहिल्याउन मद्दत गर्नेछ। धेरैजसो अवस्थामा नराम्रो नियत राखेर हेरेको, छुन खोजेको वा पछ्याएको भेउ पाउन सके मात्र पनि यौनहिंसाबाट बच्न सकिन्छ।

बलात्कार, दुव्र्यवहारजस्ता महिला हिंसाका घटना बढेका बेला ‘हाम्रो पालो’ संस्थाको पहल सान्दर्भिक छ। यसले सबभन्दा हिंसाको जोखिममा रहेका स्कुले नानीहरूलाई यौनहिंसा भनेको के हो, कसरी चिन्ने र कसरी प्रतिकार गर्ने सिकाउँछ। उनीहरू घरदेखि स्कुल जहीँ पनि असुरक्षित हुन सक्छन् भन्ने बुझाउँछ। आफन्तदेखि शिक्षक जसबाट पनि यौनहिंसा हुनसक्छ है भनेर सजग गराउँछ।

एक तथ्यांकअनुसार १८ वर्षमुनिका किशोरी बढी बलात्कृत छन्। त्यसमा पनि १० वर्ष मुनिका ५० प्रतिशतभन्दा बढी छन्। वृद्ध र अपांगता भएका महिलाको जोखिम बढ्दो छ। वर्ष २०५४–५५ मा देशभर १ सय ८१ बलात्कारका घटना भएका थिए। २०७३–७४ सम्म १ हजार १ सय ३१ पुगेको छ।

‘जुनसुकै उमेरका महिला जोखिममा छन्। हामीले स्कुल पढ्ने किशोरीहरूको मनोबल बढायौं र प्रतिकार गर्न सिकायौं भने अरू उमेरका महिलालाई पनि सहयोग पुग्छ, दुरगामी प्रभाव पर्छ,’ हाम्रो पालो संस्थाकी कार्यकारी निर्देशक अनिता थापाले भनिन्।

केही समयअघि सामाजिक सञ्जालमा ‘वैवाहिक बलात्कार’ र ‘महिला असहमति’ बारे बहस चल्दा अनिताले ट्विटरमा लेखेकी थिइन्, ‘जसलाई सहमति र वैवाहिक बलात्कार भनेको के हो थाहा छैन, तिनलाई यी किशोरीहरूले एकाध कक्षा लिइदिन सक्छन्।’

जस्तो, लक्ष्मी खनाललाई सुनौं।

सिन्धुपाल्चोक, लाँगर्चेकी लक्ष्मी आफ्नो बुझाइ यसरी बताउँछिन्, ‘हातले छोएर मात्र दुव्र्यवहार हुन्छ भन्ने छैन। हामीलाई छुँदै नछोएर पनि कसैले दुव्र्यवहार गरिरहेको हुनसक्छ।’

‘आँखा सन्काउनु, जिब्रो लेप्राएर इसारा गर्नु, जिब्रो पड्काउनु पनि यौन दुव्र्यवहार हो,’ उनले भनिन्, ‘कसैले तपाईंको शारीरिक बनोटअनुसार अर्कै नाम राखेर बोलाउँछ र यसरी बोलाएको तपाईंलाई मन पर्दैन भने त्यो दुव्र्यवहार हो। तपाईंले नाइँ भन्दाभन्दै कोही तपाईंलाई जबर्जस्ती खुवाउन खोज्छ, खेलाउन खोज्छ वा कतै लैजान खोज्छ भने त्यो पनि दुव्र्यवहार हो।’

यस्ता कुनै पनि गतिविधिलाई प्रश्रय दिन नहुने उनको सुझाव छ। कसैले गलत नियत राखेको शंका भए प्रतिकार गर्न, आमाबुवा वा दाइदिदीलाई सुनाउन उनी सुझाउँछिन्।

यौन दुव्र्यवहार लगायत विषयमा उजुरी गर्न अप्ठ्यारो नहोस् भनेर स्कुलमा ‘गोप्य बाकस’ व्यवस्था गरिएको लक्ष्मीले जानकारी दिइन्। सबैका अगाडि भन्नै नसक्ने समस्या भए यस्तो गोप्य बाकसले सहयोग गर्ने उनको अनुभव छ।

‘समस्या लेखेर बाकसमा राख्दा हिंसामा परेका किशोरीहरूले आफ्नो नाम लेखिरहनुपर्दैन,’ ९ कक्षा पढ्ने उनले भनिन्, ‘प्रत्येक शुक्रबार बाकस खोलेर सबै उजुरी पढिन्छ।’

यो व्यवस्था सुरु भएपछि कक्षामा शिक्षकहरूले गर्ने व्यवहार परिवर्तन भएको उनले बताइन्। ‘पहिले केही सरहरू केटीलाई अनावश्यक कुट्ने र मुसार्ने गर्नुहुन्थ्यो। अहिले हटेको छ,’ उनले भनिन्।

यौनहिंसा मात्र होइन, यी किशोरी महिला स्वास्थ्यमा पनि सचेत छन्। महिनावारीसँग जोडिएका कुरीतिविरुद्ध खुलेरै बोल्न थालेका छन्।
पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउन सिक्दै किशोर(किशोरी। तस्बिरः अनिता थापा

लक्ष्मीको परिवारमा त महिनावारी बार्ने चलन धेरै कम भइसक्यो। पहिले फलफूलका बोट छुन हुन्न, दूधदही खान हुन्न, कसैलाई नछोई अलगथलग बस्नुपर्छ भन्ने मान्यता थियो।

‘हाम्रो चलनअनुसार पहिलोचोटि महिनावारी हुँदा अर्काको घरमा लुकाएर राखिन्छ। यस्तो बेला दाजुभाइ, बुवा, काका कसैलाई हेर्न हुँदैन भनिन्छ। मेरो पालामा त्यस्तो केही भएन। ममीले घरै बस भन्नुभयो। सुरुमा त बुवालाई हेर्न डर लागेको थियो। तर, खोइ मैले त हेरेँ१ केही भएन,’ उनले पहिलो महिनावारीको अनुभव सुनाइन्।

अचेल कहिलकाहीँ उनका बुवा ‘महिनावारी बार्नुपर्दैन?’ भनेर कराउँछन्। त्यस्तो बेला उनकी आमा बचाउमा अघि सर्छिन्। ‘पहिलोचोटि हुँदा त बारिन, अब के बार्ने,’ उनी जवाफ दिन्छिन्।

‘मेरो घरमा टीका नलगाउने, छोइछाइ गर्ने केही हुँदैन। ममी, दिदीहरू नै बार्नुहुन्न, आनन्द छ,’ उनले भनिन्।

घरको सिकाइमा ‘हाम्रो पालो’ तालिमले थप बल पुर्यायो। लक्ष्मी आफ्ना साथीहरूलाई पनि महिनावारी हुँदा छोइछाइ बार्ने होइन, बरु सफासुग्घर बस्नुपर्ने सुझाव दिन्छिन्।

उनले आफ्नो साथीको घटना सुनाइन्।

साथीकी आमा परम्परागत सोचकी रहिछन्। महिनावारी हुँदा छोरीलाई स्कुलधरि नपठाउने। फलफूलका बोट छुन नदिने। दूधदही खान नदिने।

लक्ष्मीले सम्झाइन्, ‘फलफूल कुहिनुसँग महिनावारीको कुनै हात छैन।’

‘अनि भगवान रिसाउनुहुन्न त?’ साथीकी आमाले सोधिन्।

‘कस्तो कुरा गर्नुहुन्छ आन्टी १ केटी भगवान पनि त हुन्छ नि। उहाँहरू पनि त महिनावारी हुनुहुन्छ होला, उहाँहरूले कहिले बारेको सुन्नुभएको छ?’ लक्ष्मीले जवाफ दिइन्।

बल्लतल्ल कुरा बुझे पनि स्कुल पठाउन धेरै समय गाह्रो मानिरहिन्। अब त्यो अवस्था पनि छैन।

यी किशोरीहरूले स्कुलमा महिनावारी हुँदा सरसफाइको बन्दोबस्त आफैंले गरेका छन्। महिनाका ती सकसपूर्ण चार–पाँच दिन स्कुल आउन सहज भएको छ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–५ की रोजिना तामाङ पढ्ने स्कुलमा छात्राहरूको निम्ति ‘स्यानिटरी प्याड’ व्यवस्था गरिएको छ। त्यहाँ छात्राहरूको अलग–अलग समूह छ। एउटा समूहले प्याडको बन्दोबस्त गर्छ। अर्कोले फोहोर प्याड फाल्ने बाल्टिनको।

सुरुआती दिनमा ‘हाम्रो पालो’ संस्थाको आर्थिक सहयोगमा प्याड किनेका थिए। केही समययता भोटेकोशी गाउँपालिकाले उपलब्ध गराउँदै आएको रोजिनाले बताइन्।

‘जसको महिनावारी हुन्छ, उसको नाम लेखेर प्याड दिन्छौं,’ उनले भनिन्, ‘पैसा तिर्नुपर्दैन। गाउँपालिकाले दिन छाड्यो भने स्कुल बाल क्लबको बजेटबाटै प्याड व्यवस्था गर्नेछौं।’

महिनावारी बेला सरसफाइमा ध्यान दिन ‘हाम्रो पालो’ ले घरेलु विधिबाट ‘स्यानिटरी प्याड’ बनाउने तालिम पनि दिँदै आएको छ। फाल्चा नेपालको सहकार्यमा कपडाको प्याड बनाउन सिकाइएको संस्थाले जनाएको छ। हातैले सिलाइने यो प्याड धोएर पुनः प्रयोग गर्न मिल्छ। तालिममा केटाहरूलाई पनि सहभागी गराइएको थियो।

पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउन सिक्दै किशोर(किशोरी। तस्बिरः अनिता थापा

‘बजारबाट स्यानिटरी प्याड किन्न महँगो पर्छ। धेरैले खर्च गर्न सक्दैनन्। कति गाउँमा त पाइँदा पनि पाइँदैन। घरैमा प्याड बनाउन जानेपछि बजारबाट किन्न नसके पनि समस्या नहोला,’ हाम्रो पालोकी अनिताले भनिन्, ‘यो वर्षको अन्त्यसम्म उनीहरूलाई प्याड बनाउन सरसामान उपलब्ध गराइनेछ।’

स्कुले छात्राहरूका अतिरिक्त गाउँका गृहिणीलाई पनि यस्तो तालिममा सामेल गराइन्छ। किशोरीहरूलाई समस्या पहिचान गराउन सजिलो होस् भनी स्थानीय आमा समूह सदस्य, स्वास्थ्य स्वयंसेविका र शिक्षिकाहरूलाई तालिम दिने गरेको अनिता बताउँछिन्।

सरसफाइमा सचेतना बढे पनि महिनावारीसँग जोडिएको कुरीति सबैतिर हटेको छैन।

जुगल गाउँपालिका–५ की जस्बिना थापालाई यो कुरीति मन पर्दैन। तर, आमाबुवाको मन राख्न बार्दै आएकी छन्।

‘वर्षौंदेखिको संस्कार हो, सजिलै हट्न गाह्रो छ,’ उनले भनिन्, ‘हामी ममीहरूको उमेरमा पुग्दा सायद हट्छ। त्यसपछि परिवारको नेतृत्व हाम्रै हुन्छ नि।ु

‘अरूले के गर्छन् थाहा छैन, म आफ्नी छोरीलाई यस्तो गराउँदिन। महिनावारी हुँदा एक्लै राख्नु पनि छोरीहरूमाथिको हिंसा नै हो,’ उनले भनिन्।

यति मात्र होइन, यी किशोरीहरूले आफ्नो र आफूजस्तै अरूको भविष्यबारे पनि सोच्न थालेका छन्। उनीहरूको गाउँठाउँमा बालविवाह धेरै हुन्छ। उनीहरू सकेसम्म रोक्न पहल गरिरहेका छन्। आफूसँगै वा सानो कक्षामा पढ्ने कसैको बिहेको कुरा सुने गएर सम्झाउँछन्। कलिलै उमेरमा बिहे गर्दा हुने समस्याबारे बताउँछन्। सबैमा सफल नहोलान्, केहीमा पक्कै भएका छन्।

हामी सबै कुरा एकैपटक परिवर्तन गर्न सक्दैनौं, कक्षा १० पढ्ने सविता श्रेष्ठले भनिन्, थोपा(थोपा पानीले गाग्री भरिन्छ भनेझैं विस्तारै सफल हुन्छौं भन्ने विश्वास छ।ु

सन् २०१३ बाट सुरु ‘हाम्रो पालो’ कार्यक्रमले १२ देखि १८ वर्ष उमेरका ६ हजारभन्दा बढी किशोरी र ३ हजारभन्दा बढी किशोरलाई तालिम दिएको छ।

यौनहिंसा नियन्त्रणको सिकाइ कार्यशालामा निर्मला पन्तको प्रसंग नउठ्ने कुरै भएन।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला र उनीजस्तै बलात्कारको शिकार अन्य महिलाको घटनाले आफूहरूलाई सजग बनाएको उनीहरू बताउँछन्।

लक्ष्मीले त कार्यशालामा बस्दाबस्दै निर्मलाको सम्झनामा एउटा कविता पनि कोरिछन्।

‘मैले निर्मलाको नाममा एउटा कविता लेखेकी छु, सुनाउँ है,’ उनले भनिन्।

अनिता उनले कविता पाठ गरेको भिडियो खिच्न थालिन्। कविता यस्तो थियोः

दूधको स्वाद दूधमा नै छ
खिरको स्वाद खिरमा छ
तिमी र म मात्र होइन साथी,
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ

खुट्टा तान्छ सारा दुनियाँ
पीर चिन्ता नारीको शिरमा छ
एकता एकता मात्र भन्छौं नेपाली हामी
एकताबद्ध हुने त्यो माहुरी हरेक भिरमा छ
एकताबद्ध हुने त्यो माहुरी हरेक भिरमा छ

दमन, शोषण, हेपाइ कति सहन्छौ नारी तिमी
तिम्रो विकासक्रम धिर धिरमा छ
तिमी र म मात्र होइन साथी
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ

सहनुहुन्न अब हामीले हिंसा र दुव्र्यवहारहरू
सयौंमा एक नारी वीरमा छ
शान्तिका अग्रदूत गौतम बुद्धको देशमा शान्ति नखोज
शान्ति त तिम्रो शिरमा छ
शान्ति त तिम्रो शिरमा छ

न्याय पाइनन् निर्मलाले गरेन सरकारले वास्ता
सरकारमाथि औंला ठड्यायो कसले
भोलि हामीलाई पर्दा पनि बेवास्ता गर्छ
त्यसैले छाड्नुहुन्न त्यस्ता अधर्मी पापीलाई
दुव्र्यवहार गर्छ तिमीलाई जसले
दुव्र्यवहार गर्छ तिमीलाई जसले

आधुनिकता बढी भयो
दाजुभाइ र आफ्नै बुवासमेत छैनन् सत्य
मौन बस्यो सरकार किन?
बलात्कार गरी गरियो निर्मलाको हत्या
बलात्कार गरी गरियो निर्मलाको हत्या

भावना बुझ नारीले नारीको
शान्ति त तिम्रै शिरमा छ
तिमी र म मात्र होइन साथी
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ

सबै त्यस्ता अधर्मी र खराब छैनन् साथी
सबै त्यस्ता अधर्मी र खराब छैनन् साथी
कोही दैश विकास गर्न हतारमा छ
होसियार रहनु नारी सबै
तिमी र मात्र हाइन
निर्मला अनि अरूको जीवन पनि खतरामा छ
निर्मला अनि अरूको जीवन पनि खतरामा छ

न्याय खोज्ने निर्मलाका बाआमा
खोज्दै जानुस्, न्याय सगरमाथा शिरमा छ
एकता र शान्ति ल्याउने भन्छौं नेपाली सबै
एकताबद्ध हुने त्यो माहुरी भिरमा छ
तिमी र म मात्र होइन साथी
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ
आज निर्मला अनि यो देशका सबै नारी पीरमा छ

तपाईको प्रतिक्रिया

Comments