Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाण्डौ, १२ फागुन २०७८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जा ९निम्स दाइ० लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।

आज बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी पर्यटन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभएको हो । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो । उहाँले आरोही पुर्जाको साहसको सम्मान गर्दै आउँदो दिनमा आफ्नै रेकर्डलाई ब्रेक गर्ने गरी अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै हिमाल आरोही निर्मल पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महसुस गरेको बताउनुभयो । आउँदा दिनमा पनि देशलाई विश्व माझ चिनाउनका लागि आफूले योगदान गर्न चाहेको उहाँले उल्लेख गर्नुभयो ।

पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम राख्नुभएको छ । उहाँले बनाउनुभएको १४ पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ ।

तपाईको प्रतिक्रिया