Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १२ फागुन २०७८ । चितवनमा बर्डफ्लुको संक्रमण बढ्दै जान थालेपछि ५ हजार कुखुरा नष्ट गरिएको छ ।

भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा। प्रभात न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको हो । तीनवटा खोर रहेको सो फर्मको कुखुरा लगातार मर्न थालेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको थियो ।

केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्डफ्लु देखिएको थियो । चितवन र काठमाण्डौंका केही फर्ममा बर्डफ्लु देखिएपछि सरकारले ती क्षेत्रलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

पोल्ट्रीको राजधानी मानिने चितवनमा पुनः बडफ्लु फैलिएपछि व्यावसायीहरु चिन्तित बन्न थालेका छन् । चराचुरुङगी, मान्छे तथा खोरमा काम गर्ने व्यक्ति, कुखुराजन्य पदार्थ बोक्ने सवारी साधानबाट खोरमा संक्रमण फैलिन सक्ने भएकोले विषेश सचेतना अपनाउनुपर्ने चिकित्सकको भनाई छ ।

 

तपाईको प्रतिक्रिया