Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १० फागुन २०७८ । सर्वोच्च अदालतले २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा जनप्रतिनिधिको पाँच वर्षे पदावधि कटौती हुने वा नहुनेबारे सरकार र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ ।

महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकार र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको हो ।

मेयर साहले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्दा आफूहरुको पाँच वर्षे पदावधि कटौती हुन सक्ने भन्दै सर्वोच्चमा रिट दिनुभएको थियो । उहाँले आफ्नो पाँच वर्षे अवधि सुनिश्चित गर्न अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले अस्वीकार गर्‍यो । आफू ७ असोज २०७४ मा निर्वाचित भएकाले ६ असोज २०७९ सम्म निर्वाध रुपमा काम गर्न पाउनुपर्ने उहाँको माग थियो ।

सरकार र निर्वाचन आयोगले लिखित जवाफ पेश गरेपछि मेयर साहको निवेदन नियमित प्रक्रिया अनुसार सुनुवाइ हुनेछ ।

तपाईको प्रतिक्रिया