Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बागलुङ, ७ फागुन २०७८ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १९ विद्यालयले बजेट पाउने भएकाछन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनौटमा पर्दा बागलुङका १ सय १९ विद्यालय छनौटमा परेका हुन् । विद्यालयका लागि २४ करोड ७ लाख ५० हजार रुपैया बजेट स्वीकृत भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रमका लागि विद्यालय छनौट गरेको हो ।

यहाँका १० पालिका अन्र्तगत १ सय १९ विद्यालय मध्य गलकोटका १२, बागलुङका १५, जैमिनीका १४, ढोरपाटन नगरपालिकाका १६ विद्यालय छनौट भएका हुन् । यस्तै, काठेखोलाका ८, बरेङका ६, निसीखोलाका १४, ताराखोलाका ९, तमानखोलाका ८ र बडिगाड गाउँपालिकाका १७ विद्यालय छनौट भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बागलुङका १ सय १९ विद्यालयमध्ये ३८ विद्यालयमा चार कोठे विद्यालय भवन निर्माणका लागि रु. ३६ लाखका दरले रु. १३ करोड ६८ लाख, ४४ विद्यालयमा २ कोठे भवन निर्माणका लागि रु. १८ लाखका दरले रु. ७ करोड ९२ लाख, ३५ विद्यालयमा आइसिटि कार्यक्रमका लागि रु. ६ लाख ५० हजारका दरले रु. २ करोड २७ लाख ५० हजार र ल्याबका लागि २ विद्यालय त्रिभुवन माध्यामिक विद्यालय बडिगाड गाउँपालिका र गलकोट माध्यामिक विद्यालय गलकोटका लागि रु.१० लाखका दरले रु. २० लाख बजेट स्विकृत भएको शिक्षा मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयका अनुसार छनौट भएका विद्यालयमध्ये ९ सय ७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, दुई हजार १ सय ६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ । चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध गराइनेछ ।

नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ वटा विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार रुपैयाँ छुट्याईएको छ ।ईमेजखबर बाट

 

तपाईको प्रतिक्रिया