Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, १ फागुन २०७८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनको लागि बिहीबारदेखि दल दर्ता गर्ने भएको छ । यसअघि दर्ता भइसकेका दलहरूले पनि नयाँ निर्वाचनका लागि दर्ता गर्नुपर्ने हुन्छ ।

आयोगले शुक्रबार स्वीकृत गरेको कार्ययोजना अनुसार फागुन ५ देखि १५ सम्म दल दर्ता निवेदन दिनु पर्ने बताइएको छ। आयोगमा हालसम्म १ सय ५ वटा दल दर्ता भइसकेका छन् । र थप दल दर्ताको प्रक्रियामा छन् । निर्वाचनको लागि दल दर्ता गर्नुअघि लेखा परिक्षण प्रतिवेदन अनिवार्य गरिएको छ।

आयोगले कुन दिन के काम गर्ने भन्ने कार्य योजना पनि बनाएको छ । निर्वाचन गर्ने दिनसम्मको योजना आयोगले स्वीकृत गरेको हो । दल दर्ता स्वीकृत भने फागुन २६ मा मात्रै हुनेछ । चैत ४ सम्म निर्वाचन कार्यक्रम स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने आयोगको तयारी छ । दल दर्तापछि मात्रै आयोगले आचारसंहिता लागू गर्न लागेको छ ।

संविधान तथा कानुनमा भएको व्यवस्था बमोजिम आयोगले अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने लगायतलाई समेटेर निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए ।

निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचय पत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्ने लगायत क्रियाकलाप समावेश गरी निर्वाचन कार्यतालिकामा समावेश गरिएको छ ।

आयोगले फागुन २० सम्म निर्वाचन निर्देशिका, कार्यविधि, आचारसंहिता र मापदण्ड बनाउने, दल दर्ता गर्ने, सरकारबाट बजेट लिइसक्ने, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिको लागि नामावली लिइसक्नु कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै चैत १५ सम्म दल दर्ता स्वीकृत गर्ने, निर्वाचन कार्यक्रम स्वीकृत गर्ने, आचारसंहिता कार्यान्वयन गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण, निर्वाचन अधिकृतको नामावली प्रकाशन गर्ने आयोगको योजना छ । यस्तै वैशाख २० सम्म मतदाता नामावली, परिचयपत्र, मतपत्र समेत छपाइ गरिसक्ने आयोगले जनाएको छ ।

वैशाख २१ सम्म भने मतपत्रसमेत ढुवानी गरिसक्ने कार्यतालिका छ । निर्वाचन प्रचारप्रसारको अवधि वैशाख १७ देखि २७ सम्म ११ दिन मात्रै दिन लागिएको छ । यस अवधिमा उम्मेदवारहरूले आफ्नो प्रचारप्रसार गर्न पाउने छन् ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया