शान्ति सुब्बा
गौरादह, १ फागुन २०७८ । कमलनगर जेसीजको छैठौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कमल-५ पाडाजुङ्गीको होटल रेडस्टारमा कार्यक्रम सम्पन्न भएको हो ।
कमलनगर जेसिज वर्ष २०२१ का अध्यक्ष छत्रपति खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कमलगाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष काफ्लेले युवाहरुको क्षमता र व्यक्तित्व विकासमा कमलनगर जेसीजले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो । यस्तै, कमलनगर जेसीजले स्थानिय तहसँग सहकार्य गर्दै सामाजिक कार्यमा पनि साथ सहयोग गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । साथै अबका दिनमा पनि स्थानीय तहसँग साझेदारीका रुपमा अघि बढ्दै जान शुभकामना दिनुभयो । आफ्नो कार्यकाल सकिनै लागेको भएतापनि आफूले कमलनगर जेसीजलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले अबका दिनमा कमलनगर जेसीजले समानुपातीक ढंगबाट महिलालाई अझ बढि जोड दिँदै जेसीजमा जोड्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष छत्रपति खनालले आफ्नो कार्यकालमा कोभिडको महामारीका बीच पनि जेसीजलाइ चलायमान बनाउँदै विविध सामाजिक कार्य गर्दै आएकोले आफ्नो कार्यकाल सफल भएको बताउनुभयो ।
त्यसअवसरमा जेसी कमला बास्कोटा दाहालले जेसीज आस्था वाचन गर्नुभएको थियो भने, जेसी नविन भण्डारीले जेसीआई मिसन भिजन वाचन गर्नुभएको थियो ।
पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गत कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष छत्रपति खनालले २०२२ का निर्वाचित अध्यक्ष जेसीज नारायण बस्नेतलाई चेन तथा गावेल हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
यस्तै, नव निर्वाचत अध्यक्ष जेसीज नारायण बस्नेतले नयाँ कार्यसमितिका निर्वाचित कार्यकारीणि उपाध्यक्ष देवराज भण्डारी(महेश), विद्या सापकोटा, उपाध्यक्ष हरि अधिकारी, रोशन गौतम, प्रभात मण्डल, लोक बहादुर खड्का, तालिम निर्देशक मनिसा कठायत, जनसम्पर्क अधिकारी दिनेश चौहान र मनोनित तर्फका कानुनी सल्लाहकार देवेन्द्र दाहाल, महासचिव भिम अधिकारी, सचिव नविन भण्डारी, कोषाध्यक्ष प्रविण खड्का, प्रकरण निर्देशक कमला दाहाल र अध्यक्ष प्रमुख सल्लाहकार रिजु कार्कीलाई सपथ ग्रहण गराउनु भएको थियो ।
सो अवसरमा जेसीज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेतले आफ्नो टीमलाई नै थिम बनाउने प्रतिबद्धता जाहेर गर्दै जेसीजको भवन निर्माण गर्ने कार्यलाई पूर्णता दिने बताउनुभयो । यस्तै, आफ्नो कार्यकाल अवधिमा युवाको व्यक्तित्व विकास र सामाजिक कार्यमा अझ बढि अघि बढ्दै जाने बताउनुभयो । त्यसअवसरमा मानार्थ सदस्यमा नेपालका लागि मौरीससका अवैतानीक राजदुत तथा जलविद्युत लगानीकर्ता गणेश कार्कीलाई सम्मान गरिएको थियो । यस्तै, आजीवन सदस्यमा सामाजिक व्यक्तित्व विष्णुभक्त लामीछाने र प्रेम सापकोटालाई सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक तथा वर्ष २०२१ का कार्यकारीणि उपाध्यक्ष जेसी देवी प्रसाद दाहालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल जेसीजका पदाधिकारी, छिमेकी शाखाका शाखा अध्यक्ष, पदाधिकारी, कमलनगर जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी, विभिन्न संघसंस्थाका व्यक्तिहरु लगायतको सहभागिता रहेको थियो । त्यसअवसरमा विद्योदय शिशुसदनका विद्यार्थीहरु बाट स्काउट नृत्य प्रस्तुत गरिएको थियो ।