Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २० माघ २०७८ । लगातार न्यूनतम तापक्रममा कमी आएसँगै पछिल्लो सातादेखि देशैभरको वायुप्रदूषण उच्च बन्दै गएको छ । वातावरण विभागका अनुसार बिहीबार पोखराको वायु प्रदूषण सबैभन्दा उच्च छ ।

विभागको तथ्याङ्क अनुसार देशैभरको वायु प्रदूषणको दर उच्च हुँदा वायु गुणस्तरमा कमी आएको छ । पोखरामा २१२, भरतपुर १९८, दाङ १६६, नेपालगञ्ज १६५, सुर्खेत १६४, संखपार्क १६३ र सिमरा १५७ माइक्रोग्राम प्रति घनमिटर बिहीबार मापन भएको छ । सरकारले २४ घण्टामा वायुको गुणस्तरलाई ४० माइक्रोग्राम प्रति घनमिटरसम्मलाई राष्ट्रिय मापदण्ड तोकेको छ । यता विश्व स्वास्थ्य सङ्गठनले भने २५ माइक्रोग्राम प्रति घनमिटरसम्मलाई अन्तराष्ट्रिय मापदण्ड तोकेको छ ।

वातावरण विभागको तथ्याङ्क अनुसार पार्टिकुलेट म्याटर २.५ माइक्रोनको धुलोको प्रदूषण २४ घण्टामा पोखरामा २१२ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ । यस हिउँदमा पोखरा क्षेत्रको वायु प्रदूषणको दर उच्च भएको छ । अन्य समयमा तराईका मुख्य शहरहरुमा वायु प्रदूषणको दर उच्च हुने गरे पनि यस वर्ष भने पोखराको वायुप्रदूषणको दर मानव शरीरका लागि अति नै हानिकारक भएको हो । देशका अन्य शहरहरुको वायु पनि हानिकारक रहेको पाइएको छ ।

पछिल्लो साता न्यूनतम तापक्रममा कमी आएसँगै वायु प्रदूषण पनि उच्च भएको हो । बिहीबार न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस थियो । यता सबैभन्दा कम जुम्लामा ०.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

वायुको गुणस्तर स्वास्थ्यका लागि अति हानिकारक तहमा पुगेको भन्दै वातावरण विभागले आवस्यकता विना बाहिरी क्षेत्रमा हिँडडुल नगर्न अनुरोध गरेको वातावरण विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया