Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

अनुषा अधिकारी

काठमाडौं, २० कात्तिक । आज कुकुर तिहार मान्छेको असल जनावर साथी पुज्ने दिन।

तपाईंले पनि आफ्नो घर(टोलका कुकुरलाई टीका र फूलमाला लगाइदिनुभयो होला। मासुभात वा उसलाई मनपर्ने खानेकुरा खुवाएर पूजा गर्नुभयो होला१

तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?

कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा साथ दिनु सामान्य हो। योबाहेक वैज्ञानिकहरूले कुकुर र मान्छेबीच भावनात्मक सम्बन्ध पनि भएको बताएका छन्।

मतलब, मान्छेलाई पीडा हुँदा कुकुरले पनि पीडा अनुभूत गर्न सक्छ। मान्छेको खुसी र दुःखलाई महशुस गर्न सक्ने खुबी कुकुरमा हुन्छ।

केही महिनाअघि रिलिज भएको हलिउड फिल्म ‘अल्फा’ ले कुकुरको विकासक्रमलाई सरल ढंगले चित्रण गरेको छ।

फिल्ममा मान्छे शिकारी र जंगली अवस्थामा हुँदाको कथा छ। बीस हजार वर्षअघि युरोपको माथिल्लो पिलालिथिकमा एक किशोर शिकारी आफ्नो टोलीसँग छुट्छ। टोलीबाट टाढा भएपछि ऊ एक्लै पर्छ। फर्कने बाटो खोज्न थाल्छ। त्यही क्रममा किशोरको भेट एउटा ब्वाँसोसँग हुन्छ। ब्वाँसो पनि शिकारकै खोजीमा हुन्छ। किशोरलाई आक्रमण गर्छ। दुवैको लडाइँमा ब्वाँसो घाइते हुन्छ।

घाइते ब्वाँसो देखेर किशोरको मनमा माया जाग्छ। उसको हेरचाह गर्छ। किशोरको माया देखेर ब्वाँसोलाई पनि ऊप्रति विश्वास पलाउन थाल्छ। उनीहरूको सम्बन्ध छिप्पिन्छ। उनीहरू साथी बन्छन्। सँगै शिकार गर्न सिक्छन्। किशोरले ब्वाँसोको नाम राख्छ( अल्फा।

उनीहरूको आत्मीयता देखेर अरू मान्छे पनि चकित खान्छन्। ब्वाँसोलाई विश्वास गर्न थाल्छन्।

यही ब्वाँसो समयक्रमसँगै कुकुर भएको मानिन्छ।

फिल्मले कुकुरको विकासक्रम झल्काउन केही काल्पनिक घटनाको सहारा लिए पनि हजारौं वर्षअघि जंगली ब्वाँसोबाटै कुकुरको विकास भएको हो भन्ने केही वैज्ञानिकहरूले पनि प्रमाणित गरेका छन्।

उनीहरूले संसारका विभिन्न देशबाट कुकुरका डिएनए संकलन गरेका छन्। ती सबैको परीक्षणबाट घरपालुवा कुकुरको विकास मध्य–एसियाबाट भएको निष्कर्ष निकालेका छन्। त्यसमा पनि नेपाल वा मंगोलियाबाट कुकुर घरमा पाल्ने चलन सुरु भएको उनीहरूको भनाइ छ।

वर्षौंदेखि कुकुरको यो रहस्यपूर्ण कथा खोतलिरहेका वैज्ञानिकले घरपालुवा कुकुर विकास भएको समय कम्तीमा १५ हजार वर्ष अघिलाई मानेका छन्। पहिले दक्षिणी चीन, मध्यपूर्व, साइबेरिया र युरोपबाट घरपालुवा कुकुर विकास भएको अनुमान थियो। नयाँ अनुसन्धानले मध्य–एसियालाई घरपालुवा कुकुरको उद्गम स्थल मानेको हो।

दुई वर्षअघि अमेरिकाको न्यूयोर्कस्थित कर्नल युनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसनको एडम बोयको ल्याबरेटोरीले संसारका ३८ देशबाट ५ सय ४९ थरीका कुकुरको डिएनए परीक्षण गरी यो निष्कर्ष निकालेको थियो। यो नतिजा नेसनल एकेडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित भइसकेको छ।

वैज्ञानिकहरूले एसिया, अफ्रिका, अमेरिका, युरोप, मध्यपूर्व, अस्ट्रेलिया लगायत संसारभरको प्रतिनिधित्व हुने गरी कुकुरको डिएनए संकलन गरेका थिए। उनीहरूका अनुसार कुकुरको सबभन्दा पुरानो पुर्खाको खोजीमा यो परीक्षण केन्द्रित थियो।

‘घरपालुवा कुकुरको विकास कहिले र किन भयो भन्ने विषयमा धेरै बहस हुँदै आएका छन्,’ अनुसन्धानका लेखक एडम बोयकोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले लेखेका छन्, ‘मेरो विचारमा सबभन्दा पहिला हामीलाई यो विकास कहाँ भयो भन्ने थाहा हुनुपर्छ।’

‘पछिल्लो अनुसन्धानले मध्य–एसियाको कुन देशबाट घरपालुवा कुकुर विकास भएको हुनसक्छ भनी हामीले पुर्खाको जरा पत्ता लगाएका छौं, समग्र विकासक्रम पहिल्याउनमा यसले नयाँ दिशा दिएको छ,’ उनले थपे।

घरपालुवा कुकुरको पुर्खाको खोजीमा दत्तचित्त केही वैज्ञानिक भने एडम बोयकोको निष्कर्षसँग सहमत छैनन्।

स्विडेनको स्टकहोल्मस्थित रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक पिटर साभोलेनिनले यो विषयमा गहन अनुसन्धान गरेका छन्। उनको निष्कर्ष छ, घरपालुवा कुकुरको विकासक्रम दक्षिणपूर्वी एसियाबाट सुरु भएको हो। उनी दक्षिणी चीन यसको उद्गम हुन सक्ने बताउँछन्।

नयाँ अनुसन्धानमा दक्षिणी चीनमा पाइने कुकुरको डिएनए नमूना नसमेटिएको औंल्याउँदै उनले ‘द क्रिश्चियन साइन्स मनिटर’ सँगको अन्तर्वार्तामा भनेका छन्, ‘उनीहरू दक्षिणी चीनबाट विकास भएको विश्वास गर्दैनन् भने कम्तीमा त्यहाँका कुकुरको डिएनए परीक्षण गरेर यो मान्यतालाई वैज्ञानिक रूपमा अस्वीकार गर्ने हिम्मत गर्नुपथ्र्यो।’

बोयकोको आफ्नै तर्क छ।

‘हो, बढीभन्दा बढी ठाउँबाट डिएनए संकलन गर्न सकेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीले उत्तरी भियतनामका कुकुरको नमूना परीक्षण गरेका छौं, यो चिनियाँ सीमा नजिक नै पर्छ।’

अमेरिकाकै लस एन्जेल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका रोबर्ट वेन पनि एडम बोयकोको निष्कर्षसँग सहमति राख्दैनन्। उनले डिएनएका पुराना अवशेषको अनुसन्धानबाट सन् २०१३ मै घरपालुवा कुकुरको विकास युरोपबाट भएको निष्कर्ष निकालेका थिए।

अक्सफोर्ड युनिभर्सिटीका ग्रेगर लार्सनले भने यो नतिजालाई ‘उपलब्धिमूलक’ भनी व्याख्या गरेका छन्।

उद्गम स्थलमा फरक मत रहे पनि कुकुर संसारकै पहिलो घरपालुवा जनावर हो भन्नेमा वैज्ञानिकहरू सहमत छन्। तर, मानिसले नियोजित रूपमै यसलाई आफ्नो साथी बनाएका होइनन्।

वैज्ञानिकहरूको अनुमानअनुसार, मान्छे समूहमा बस्न थालिसकेका थिए। जंगलका ब्वाँसो आहारा खोजीमा मानव बसोबास छेउछाउ जान थाले। मान्छेले बढी भएर फालेका खानेकुरा उनीहरूको आहारा बन्दै गयो। पछि यो यति नियमित हुँदै गयो, मान्छेको समूह एक ठाउँबाट अर्को ठाउँ चहार्दा पनि ती ब्वाँसो उनीहरूलाई पछ्याउन थाले।

मान्छेलाई पनि उनीहरूको साथ सहज हुँदै गयो। जंगल–जंगल भौंतारिँदा ब्वाँसोको साथले सुरक्षा अनुभूति भयो। त्यसैले, न मान्छेले तिनलाई लखेटे न तिनले मान्छेलाई पछ्याउन छाडे।

यसरी मान्छे र कुकुर सँगै हुन थाले।

दुई वर्षअघिको एक वैज्ञानिक अनुसन्धानले कुकुरको पाचन प्रणाली र पाचन रस लगभग मान्छेकै जस्तो भइसकेको देखाएको छ। हजारौं हजार वर्षदेखि मान्छेले खाने चिजमै भर पर्दै आएकाले कुकुरको पाचन रस र प्रणालीमा त्यहीअनुसार परिवर्तन भएको वैज्ञानिकहरूको विश्वास छ।

अहिले पनि कुकुरका पूर्खा ब्वाँसो छँदै छ। कतिपयले स्याललाई पनि कुकुरका पूर्खा मान्छन्। ब्वाँसो, स्याल र कुकुरको जैविक जात एकै मानिन्छ। यिनीहरू ुक्यानिसु वर्गमा पर्छन्। तर धेरै अनुसन्धानले कुकुरको विशेषता ब्वाँसोसँगै धेरै मिलेको देखाएको छ। वैज्ञानिकहरूले लगातार गर्दै आएको डिएनए र जीन परीक्षणबाट यस्तो निष्कर्ष निकालेका हुन्। धेरै परीक्षणमा त ब्वाँसो र कुकुरबीच सम्बन्ध गराएर स्वस्थ्य बच्चा जन्मिएका पनि छन्।

कुकुरको इतिहास अध्ययन गर्न वैज्ञानिकहरूले छाडेका छैनन्। यी निष्कर्षमा सबैको सहमति पनि छैन। उनीहरू अझै देशभर खोजतलास र परीक्षण गरिनै रहेका छन्। अब यति मिहिनेत किन भइरहेको भन्ठान्नुहुन्छ भने यसको पनि जवाफ वैज्ञानिकहरूले दिएका छन्।

उनीहरू भन्छन्, ‘कुकुरको पुर्खाको खोजी भनेको एक किसिमले मान्छेकै पुर्खाको खोजी हो। कुकुरको कथाले वास्तवमा हामीलाई मानवीय विकासक्रमकै नयाँ कथा थाहा पाउन मद्दत गर्छ। कुकुरका पूर्खाले हजारौं वर्षदेखि मान्छेका पूर्खा पछ्याउँदै आएका छन्।’

पक्कै पनि।

त्यसैले त हामी कुकुरसँग घनिष्ट छौं। संसारभर कुकुर साथी त छँदैछ, पहरेदार छ, सुरक्षाकर्मी छ। तर हामी नेपालीले जति आत्मसात अरू कसले गरेको होला१

हामीकहाँ त कुकुरलाई फूलमाला लगाएर पूजा गर्ने चाड नै छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments