Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

बिराटनगर १९ कात्तिक । विराटनगर र मोरङमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाउने गरिएका सवारी साधनमा मोटरसाइकलको संख्या धेरै रहेको पाइएको छ । अन्य सवारी चालकको तुलनामा मापसे गर्नेमा मोटरसाइकल चालक धेरै रहेका हुन् । एक महिनादेखि प्रहरीले गरेको मापसे चेकजाँच र कडाईका कारण मापसे गरेर सवारी चलाउने चालकको संख्या दिनप्रतिदिन घट्दै गएको पनि पाइएको छ ।

मापसे गरेर सवारी चलाउने चालकले अनिवार्य लिखित तथा मौखिक परीक्षा दिनै पर्ने र परीक्षा अनिवार्य उत्तीर्ण हुनै पर्ने नियम लागू गरिएपछि मापसे गर्ने चालकको संख्यामा कमि हुँदै गएको प्रहरीको बुझाइ छ । प्रहरीले दैनिक विराटनगरमा मात्रै ३० बढी स्थानमा मापसे चेकजाँचका लागि पासो थाप्ने गरेको छ । चेकजाँचका क्रममा मापसे गरेर सवारी चलाएको पाइएमा प्रहरीले सवारी चालक अनुमति पत्र, ब्लुबुक समेतका कागजपत्र र सवारी साधन नियन्त्रणमा लिने र ट्राफिक प्रहरीले चालकलाई पुर्जी थमाउने गरेको छ ।

त्यही पुर्जी र पुर्जीमा उल्लेख भएको नम्बरका आधारमा मापसे गर्ने चालक परीक्षामा सहभागी हुँदै आएका छन् । परीक्षा उत्तीर्ण नगर्नेले प्रहरीले नियन्त्रणमा लिएका सवारी चालक अनुमति पत्र, ब्लुबुक समेतका कागजपत्र र सवारी साधन फिर्ता पाउँदैनन् । कागजपत्र र सवारी साधन फिर्ता लिन पनि प्रहरीले लिने सचेतना परीक्षामा अनिवार्य उपस्थित भएर उत्तीर्ण हुनै पर्छ ।

मापसे गरेर सवारी चलाए बापत परीक्षामा सहभागी भएर उत्तीर्ण भइसकेपछि चालकलाई ट्राफिक नियम अनुसार एक हजार पाँच सय रुपैयाँ सम्म जरिवाना र सवारी चालक अनुमति पत्र प्वाल पार्ने कारवाही पनि गर्ने गरिएको छ । मापसे गर्ने चालकका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा प्रत्येक दिन विहान ९ बजेबाट प्रहरीले परीक्षा दिन पाउने व्यवस्था गरेको छ । परीक्षामा उपस्थित हुन नपाउनेले अनलाइनमार्फत पनि परीक्षा दिन पाउने प्रविधिको विकास गरिएको छ । मापसे गर्ने चालकले ‘मोरङ पुलिस डट कम’ मा गएर ट्राफिक प्रहरीले दिएको पुर्जीको नम्बर हालिसकेपछि अनलाइनमार्फत परीक्षा दिन पाउने छन् ।

अनउत्तीर्ण हुने चालकलाई पुःन अर्को परीक्षाको व्यवस्था गरिन्छ । एक महिनाको अवधिमा मापसे गरेर सवारी चलाए बापत मोरङमा आठ सय पाँच जना चालकको कागजपत्र र सवारी साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । जसमा छ सय ९७ जना मोटरसाइकल चालक मात्रै छन् । कार र जीपका २३, ट्रकका छ, बसका एक, ट्यांकरका दुई, ट्याक्टरका ११, ट्याम्पोका ४५, सिटीसफारीका २० चालकको कागजपत्र नियन्त्रणमा लिइएको एसपी केसीले बताए । उनका अनुसार २१ जना बाहेक अरुले प्रहरीले लिने परीक्षामा सहभागी भएर उत्तीर्ण गरेर ट्राफिक नियम अनुसार कारवाही भोग्दै आफ्ना कागजपत्र र सवारी साधन फिर्ता लिएका छन् । परीक्षामा सहभागिता नजनाएका २१ जनाको कागजपत्र र सवारी साधन प्रहरी नियन्त्रणमै छन् ।

‘प्र्रहरी सक्रियता र कडाईका कारण मापसे गरेर सवारी चलाउनेको संख्या घट्दै गएको छ,’ एसपी केसीले भने, ‘यसले मापसेकै कारण हुने सवारी दुर्घटनामा पनि कमि ल्याएको छ ।’ उनका अनुसार सुरुसुरुमा एकै दिनमा ७५ जना सम्म मापसे गर्ने चालक फेला परेका थिए । ‘अहिले आएर मुस्किलले सात÷आठ जना मात्रै भेटिन्छन्,’ उनले भने, ‘प्रहरीले लिन थालेको परीक्षाका कारण दिनप्रतिदिन मापसे गरेर सवारी चलाउनेको संख्या घट्दै गएको हो ।’ प्रहरी चेकजाँचमा एक दिनमा सबै भन्दा बढी ७५ जना सम्म र सबै भन्दा कम सात जना मापसे गर्ने चालक फेला परेका छन् ।

केसीले ट्राफिक नियम अनुसार गरिने कारवाहीले मात्रै मापसे गर्ने चालक र मापसेकै कारण हुने दुर्घटनामा कमि नआएपछि मोरङमा नेपालमै पहिलो पटक मापसे गर्ने चालकले अनिवार्य परीक्षा दिनै पर्ने नियम लागू गरिएको जानकारी दिए । मापसे चेकजाँचका क्रममा चालकको सबै रेकर्ड रहने र कारवाहीमा प्रविधिको प्रयोग गरिएकै कारण मापसे गर्ने कोही पनि चालकले उत्मुक्ती पाउन नसक्ने उनको भनाइ छ ।

‘मापसे गरेर सवारी चलाउनेमा सरकारी कर्मचारी, जनप्रतिनिधी, चिकित्सक, इन्जिनियर, शिक्षक, पत्रकार, राजनैतिक दलका नेता समेत परेका छन्,’ एसपी केसीले भने, ‘उनीहरुलाई त्यत्तिकै छाडिदिनका लागि धेरै दबाव र सिफारिस आउने गरेको पनि छ ।’ उनले दबाव र सिफारिसको सुनुवाई नगरिएकै कारण र प्रहरी नियम अनुसार नै अघि बढ्ने गरेका कारण मापसे गर्ने चालकको संख्यामा कमि हुँदै गएको जानकारी दिए ।

उनले भने, ‘मापसे गरेर सवारी चलाउँदा अत्यधिक दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्नकै लागि चालकले परीक्षा दिनु पर्ने नयाँ नियम लागू गर्दै कडाई थालिएको हो ।’ चालकसंग परीक्षा लिनका लागि त्यही हिसावको प्रविधिको पनि विकास गरिएको मोरङ प्रहरीले जनाएको छ । उत्तीर्ण हुनका लागि ८० प्रतिशत अंक ल्याउनै पर्ने नियम छ । मापसे गर्ने चालकलाई ट्राफिक नियम उल्लंघन, ट्राफिक नियमको पालना र कानुनसंग सम्बन्धीत प्रश्न पत्र तयार पारेर परीक्षा लिने गरिएको एसपी केसीको भनाइ छ ।

परीक्षा नदिने र उत्तीर्ण नहुने चालकलाई अन्य कारवाही मात्रै गरेर छाड्न सकिने अवस्था नरहेको स्पष्ट पार्दै उनले भने, ‘मापसे कारवाहीले साना ठूला व्यक्ति भनेर छुट्याउँदैन । मापसे गर्ने सबै चालकलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ ।’ परीक्षामा सहभागी हुने चालकको फोटोदेखि लिएर भिडियो रेकर्डिङ समेत हुने भएका कारण अरु व्यक्तिले आएर उसका नाममा परीक्षा दिने सम्भावना नरहने केसीले स्पष्ट पारे ।

त्यस्ता चालकको सबै रेकर्ड चुस्त दुरुस्त रहने भएका कारण कोही कसेको सिफारिसकै भरमा मापसे गर्ने चालकले उन्मुक्ती पाउने सम्भावना नरहने उनको भनाइ छ । ‘चालकसंग ट्राफिक प्रहरीले थमाएको पुर्जी हुन्छ । ट्राफिक चेकजाँचकै क्रममा मोरङ प्रहरीको ‘एप्सले’ तत्काल फोटो र भिडियो खिच्ने गरीको ‘सफ्टवेयर’ तयार पारिएको छ,’ उनले भने, ‘स्वयं चालकले परीक्षा दिए नदिएको भनेर छुट्याउने काममा पनि प्रविधिकै प्रयोग हुन्छ । त्यही भएर मापसे गर्ने चालकले दिनु पर्ने परीक्षा अर्कोले दिने सम्भावना नै रहँदैन ।

’ केसीले अनलाइन पद्धतीबाट परीक्षा दिने क्रममा पनि क्यामेराले सम्बन्धीत व्यक्तिको भिडियो खिच्ने र रेकर्डिङ गर्ने तथा एउटाको परीक्षा अर्कोले दिन खोजेमा अनलाइनले त्यसलाई स्वीकार नगर्ने जानकारी दिए । उनले पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे गर्ने चालकलाई लिने परीक्षा प्रणाली प्रभावकारी बन्दै गएको बताए ।

केसीले मापसे गरेर सवारी चलाउँदा दुर्घटना हुने र त्यसले मानविय तथा भौतिक क्षति गराउने विषयमा धेरै सचेतनामुलक कार्यक्रम गरिए पनि मापसे गर्ने चालकको संख्यामा कमि नआएपछि प्रहरी थप कडा रुपमा प्रस्तुत हुनु परेको बताए । साउनदेखि असोज २० सम्ममा मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका थिए । ८० प्रतिशत दुर्घटना चालकले मापसे गरेका कारण भएको पाइएको थियो । मापसेका कारण भएको दुर्घटनामा परेर साउनदेखि असोज २० सम्ममा १७ जनाको मृत्यु भएको थियो । कडाई गरिएपछि मापसेकै कारण हुने दुर्घटना भने शुन्यमा पुगेको एसपी केसीले बताए ।

तपाईको प्रतिक्रिया