Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

डण्डिराज(विवेक) घिमिरे 
झापा, २२ साउन २०७८ । सञ्चार माध्यमबाट समाजमा भए गरेका हरेक क्रियाकलाप जनता समक्ष पुर्याउने पेसा पत्रकारिता हो । पत्रकारिताले समाजमा लुकेर बसेका घटनाको उजागर गर्ने तथा समाजमा रहेका विकृती, विसंगती, भ्रष्टाचारको अन्त्यमा महत्तवपूर्ण भूमिका निर्वाह गर्दछ । ओझेलमा परेका, पिछडीएका, हेपिएका, विकासको मुलधारमा नसमेटीएका सर्वसाधारण नागरिकलाई सशक्तिकरण गर्ने माध्यम पनि पत्रकारिता हो ।

झापाको गौरादह नगरपालिकामा सूचना सञ्चारको क्षेत्रमा कर्मगर्न चाहने सञ्चारकर्मीहरुको संख्या स्वतस्फूर्त बढ्दो क्रममा छ । समय सापेक्ष प्रविधिको राम्रो ज्ञान भएका युवाहरुले सुझबुझ र उत्साहका साथ पत्रकारिता पेसा रोज्नु निश्चयनै सुखद पक्ष हो । पत्रकारिता जस्तो ओजपूर्ण र चुनौतीपूर्ण पेशा रोजेर युवाहरु सूचना सञ्चारको फराकिलो क्षेत्रमा प्रवेश गर्नु आफैमा सहासिक निर्णय पनि हो ।

त्यसैगरी गौरादहमा नीजि लगानीमा स्वरोजगारमूलक नयाँ सञ्चारगृहहरु पनि धमाधम थपिदैछन् । शुसाशनको पक्षमा खबरदारीको तिखो कलम चलाउने सञ्चारकर्मी तथा सञ्चारगृहहरुको बढ्दो आगमनले यस क्षेत्रको सर्वाङ्गिण विकास र लोकतन्त्रमा पक्कै पनि बलियो टेवा पुग्ने नै छ ।

गौरादह नपाले कहिले बुझ्ला सञ्चारको महत्व ?
आमसञ्चार वा पत्रकार र पत्रकारिता भनेको कसैको चाकडिमा भजन गाउने माध्यम होइनन् । पत्रकारिता शासकको मुखपत्र पनि होइन । तर सञ्चार माध्यम प्रति गौरादह नगरपालिकाको मनोविज्ञान कुनै निरंकुश शामन्त शासकको भन्दा फरक देखिएन ।

गौरादह नगरपालिकाले बुभ्नै पर्छ पत्रकारिता सभ्यसमाजको सच्चा पहरेदार हो, जसले समाज परिवर्तन र सुधारमा महत्वपुर्ण भूमिका खेल्छ । पत्रकारिता आवजविहिनको आवाज हो जसले समाजमा भएका विकृती र विसंगतीहरूको उजागर गर्दै पहुँच नभएका सर्वसाधारण नागरिकको पक्षमा वकालत गर्दछ ।

पत्रकारिताले शासक र शासित वर्गबीचको दुरीलाई कम गर्दै आपसी सम्वाद, सहमती, र सहकार्यको वातावरण सिर्जना गर्दछ । यसले समाजमा लुकेर गरिने बेथीतिलाई पर्दाफास गर्दै, निरुत्साहित गर्दै सभ्य समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्छ ।

सूचना सञ्चारप्रति अनुदार गौरादहका जनप्रतिनिधि

लोकतन्त्रको आधार स्तम्भ सञ्चार जगतप्रति अनुदार र पुर्वाग्रही गौरादहका जनप्रतिनिधिहरुको कारण पत्रकारिता पेसामा आएका आसलाग्दा प्रतिभाहरुमा निरासा देखिन थालेको छ । नगरपालिका सूचना मैत्री नभएको कारण नागरिकहरु सूचनाको हक र सञ्चारको हक जस्ता संविधान प्रद्दत मौलिक हकहरुबाट बञ्चित हुनुपरिरहेको छ । गौरादहको हकमा उपयुक्त समय गुजारेर सूचना दिनु भनेको सूचना नदिनु नै हो । जसको कारण शुसाशनमा चौतर्फी प्रश्न उठिरहेको छ ।

१. स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको अथवा अधिकार सम्पन्न स्थानीय सरकार चलाएको चार बर्ष पूरा भयो । चार बर्षको बजेटमा अहिले सम्म स्थानीय सञ्चार माध्यमको संरक्षण, विकास र प्रवद्र्धन शीर्षकमा गौरादह नगरपालिकाले एउटा पनि कार्यक्रम ल्याएन ।
२. गौरादह डेटलाइन तथा भुगोलबाट पत्रकारिता गर्दैरहेका पत्रकारहरुकोे सिप तथा क्षमता विकासको लागि नीति कार्यक्रम तथा बजेटले कुनै आर्थिक बर्षमा पनि सम्बोधन भएन ।
३. गौरादह नगरपालिकाको भुगोलबाट सञ्चारको कर्म गर्दैगरेका सञ्चारकर्मी, पत्रकार महासंघको सदस्यता लिएका पत्रकार, सूचना विभागको प्रेसपास लिएका तथा सक्रिय पत्रकारहरु कति छन् स्थानीय सरकारले सुचिकरण सम्म पनि गरेन ।
४. गौरादह ठेगाना राखेर बैधानिक प्रकृया पूरा गरी सञ्चालित छापा, अनलाइन, रेडियो लगाएतका सञ्चार गृहहरु कति छन् स्थानीय सरकार बेखबर छ ।
५. सञ्चारकर्मीहरुको भेलाले सञ्चार क्लब गौरादह गठन गरी नगरपालिकालाई जानकारी गराएता पनि नगरपालिकाले हालसम्म कहिल्यै संस्थागत ब्यवहार नगर्नु ।
६. कोभिड महामारी र जोखिमको समयमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका पत्रकारलाई नगरपालिकाले सोधिखोजी सम्म पनि गरेन । सञ्चार गृहहरु कस्तो अवस्थामा चल्दैछन् ? सञ्चार कर्मीहरुको दैनिकी कसरी चलिरहेको छ ? नगरले रिपोर्टिङमा जनमानस बीचमा पुगिरहने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानीका सामग्री उपलब्ध गराउन आवस्यक सम्म पनि ठानेन ।
७. नगरपालिका आफूले नीति बनाएर स्थानीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन आवस्यक ठानेन । सञ्चार शीर्षकमा बिनियोजित बजेट कागजी प्रकृया मिलाएर नीति, कार्यक्रम र पूर्व घोषित योजना बेगर नै भजन गाउन प्रयोग हुने नगर बाहिरका सिमित सञ्चार गृहलाई उपलब्ध गराइन्छ ।
८. आफ्नो अनुकुल समाचार लेखाउन जनप्रतिनिधिहरुले आफैं सामाजिक संजालमा बिभिन्न छद्मभेषी पेजहरु चलाउनु र पत्रकार बन्न खोज्नु ।

मोफसलको पत्रकारिता र गौरादह
स्थानीय स्तरमा भएका सञ्चार गृहहरु तथा सञ्चारकर्मीहरुको विकास, संरक्षण र प्रवद्र्धनमा सम्बन्धित पालिकाहरु नै जिम्मेवार भएर नीति कार्यक्रम ल्याउन आवस्यक छ । मोफसलमा व्यावसायिक पत्रकारिताको अभ्यास कम छ । मिडिया क्षेत्रमा लगानीको अभाव पनि छ ।

दलाल पुँजीवादले सर्लक्क निलेको अर्थतन्त्रमा स्वोरोजगारमूलक सञ्चार गृहहरुको विकास र संबद्र्धन निकै चुनौतिपूर्ण छ ।
यसले गर्दा मिडिया क्षेत्रमा काम गर्ने मिडियाकर्मीहरू टिक्न सकिरहेका छैनन् । मिडियामा काम गर्ने मिडियाकर्मीहरू नै आर्थिक ब्यवसायिक रुपमा नटिकेपछि मिडिया हाउसहरूको अवस्था के र पत्रकारिताको भविष्य के ? भन्ने प्रश्नबाट गौरादहका मिडिया पनि अछुतो छैनन् ।

जवसम्म मिडिया हाउस आर्थिक रुपमा सवल हुन सक्दैनन् तवसम्म पत्रकारिता दिगो र सवल बन्न सक्दैन । पत्रकारिता अवसरले भरिएको चुनौतीपूर्ण पेसाका रुपमा पनि लिइने गरिन्छ । पत्रकारिता क्षेत्रमा मोफसलमा राज्यको लगानी सून्यप्राय छ । यसकारण पनि पत्रकारिता क्षेत्रमा झनै चुनौति बढेको देखिन्छ ।

पत्रकारिता र समाज
स्वतन्त्र र निर्भीक पत्रकारिताको बाताबरण सिर्जना गर्नु आम नागरिकको पनि दायित्व हो । ज्यानको बाजी लगाएर रिपोर्टिङ गरिरहेका पत्रकारको समस्या, चुनौती अनि मिडिया हाउसको प्रकृृति लगायतका विषयमा पनि आम नागरिकले जानकारी राख्ने, बुझने कोशीष गर्नुपर्छ ।
समाचार लेखेकै कारण पत्रकारलाई सार्वजनिक धम्की दिने, कुटपिट गर्ने प्रवृत्तिको रोक्न, प्रेस विरुद्धको दुष्प्रचार रोक्न, पत्रकारको आस्था, रङ, अनुहारका आधारमा दबाव÷ प्रभाव सिर्जना हुन नदिन समाजको नै मुख्य भूमिका हुनुपर्दछ । यस्तै पत्रकारलाई समाजबाट प्रयाप्त सुचना दिने, पत्रकारको सुरक्षामा विशेष चासो राख्ने र निरन्तर समन्वयमा रहने प्रवृतिको पनि विकास हुनुपर्दछ । आम जनतालाई कुनाकाप्चाका गतिविधिको जानकारी दिन प्रभावकारी सञ्चार क्षेत्र आवश्यक हुन्छ । यसका लागि सञ्चार क्षेत्रमा राज्यको लगानी आवश्यक छ ।

निष्कर्ष
पत्रकारिता समाजको ऐना हो । जसरी ऐनाले कुनै पनि बस्तु वा चिजलाई जस्ताको त्यस्तै देखाउँछ, त्यस्तै पत्रकारिताले समाजमा दैनिक रुपमा हुने घटनाहरूलाई जस्ताको त्यस्तै देखाई आमसञ्चारका माध्यमहरू रेडियो, पत्रपत्रिका, अनलाईन पत्रिका र टेलिभिजन मार्फत प्रकाशन तथा प्रशारण गर्दछ । पत्रकारिता मार्फत सक्रिय अगुवा चेतनाको प्रतिनिधित्व गर्ने पत्रकार पनि समाजको उपज नै हो । गौरादह नगरपालिकाले सञ्चारको महत्व, आवस्यकता र विकासमा ध्यान दिओस् ।

 

तपाईको प्रतिक्रिया