Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

शान्ति सुब्बा

गौरादह, १० असार । झापाको गौरादह नगरपालिकाले आगामि आर्थिक वर्ष २०७८।०७९ को लागि नीति तथा कार्यक्रम सहित कुल ७१ करोड ८३ लाख २३ हजारको अनुमानित बजेट प्रस्ताव गरेको छ ।

स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, कृषि र पर्यटन लगायतका विषयगत क्षेत्रहरुलाई प्राथमिकतामा राख्दै आठौं नगरसभा उद्घाटन गर्दै आज वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरसको महामारीले नगरपालिकाको विकासमा पनि प्रभाव पारेको बताउँनुहुँदै आगामी वर्षको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनुपरेको बताउनुभयो ।

यस्तै, कोरोना भाइरसका कारण लकडाउनले सिर्जना गरेको आर्थिक सुस्तता तथा सामाजिक जीवनमा आएको अवरोधबाट गुज्रीरहेको अवस्थामा यसलाई व्यवस्थापन गर्नु महत्वपुर्ण चुनौती देखिएको बताउनुभयो ।

‘गौरादह नगरपालिकाको समृद्धिको आधार, स्वास्थ्य शिक्षा कृषि र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ नगरपालिकाको सभा हलमा बिहिबार सम्पन्न आठौं नगरसभाको पहिलो बैठकमा उहाँले गत आर्थिक वर्ष २०७७।०७८ का उपलब्धि समेत बताउनुभयो ।

गत आबमा नगरपालिकाको विद्यमान पूर्वाधारको अवस्थालाई मध्यनजर गर्दै सडक तथा संस्थागत पूर्वाधारहरुलाई विशेष जोड दिई योजना कार्यान्वयन गरिएका, चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारहरुलाई विशेष जोड दिई कार्यान्वयन गरिएको, स्थानिय सरकारको दायित्व पूरा गर्न आवश्यक पर्ने स्रोत साधनका लागि स्थानिय तहलाई प्राप्त कर अधिकार क्षेत्रलाई उपयोग गर्दै न्यायोचित र वैज्ञानिक ढंगले कर दायरा विस्तार गर्ने प्रयास गरिएको, संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त शसर्त, समानीकरण अनुदान तथा आन्तरिक स्रोत समेतको पूर्ण सदुपयोग गरी नगरपालिकाको वार्षिक कार्यक्रममा स्रोतको व्यवस्था गरिएको, जनताको उच्च आकांक्षा र नगरपालिकामा उपलब्ध स्रोत साधन तथा जनशक्ति व्यवस्थापनका कतिपय जटिलताहरु भए पनि सबै प्रकारका जनआकांक्षालाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरिएको उल्लेख गरिएको छ ।

नगर प्रमुख शाहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दीर्घकालिन सोच अन्तरगत व्यापारिक, पर्यटकीय, शैक्षिक व्यावसायिक पर्यावरणीय तथा बसोबास योग्य हरित आधुनिक स्मार्ट सिटीको रुप दिँदै डिजिटल गौरादह निर्माण गर्दै यहाँका बासिन्दाहरुको जीवनस्तरमा गुणात्मक सुधार गर्ने र यसै नगरसभामा स्मार्ट सिटीको लागि विशेष प्रस्ताव पास गरि संघ तथा प्रदेश सरकारमा पेश गर्ने दीर्घकालिन सोच रहेको उल्लेख गरिएको छ ।

यस्तै, लक्ष्यहरु अन्तरगत कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि आवश्यक मेडिकल सामाग्री स्रोत साधन र जनशक्ति उपलब्धताको सुनिश्चितता गर्ने, नगरपालिकाको व्यवस्थित वैज्ञानिक र वातावरणमैत्री शहरी विकासका लागि एकिकृत शहरी विकास नीति तर्जुमा गरिने, नगर चक्रपथ निर्माण कार्यमा निरन्तरता दिइने, नगरपालिका भित्रका सडकहरुको कालोपत्रे कार्यलाई निरन्तरता दिइने, सरल, सुलभ, छिटो, मितव्ययी, भ्रष्ट्राचार रहित र फास्ट–ट्रयाकमा सार्वजनिक सेवा सहितको नगर स्थापना गर्ने नीति लिइने, नगर प्रोफायल निर्माणका कार्यलाई भदौबाट सुरुवात गरिने, गौरादह कृषि कार्यक्रमलाई प्रदेशको गौरवको योजना अगाडी बढाई कृषि प्राविधिकीकरण गर्ने ।

यस्तै, कोरोना संक्रमण समुदाय स्तरमा पैmलिन नदिन समुदायमा जनचेतना र अभिमुखीकरण कार्यक्रम चलाउने, महिला पिछडिएका आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित र अल्पसंख्यक समुदायलाई सिप विकास र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरि आत्म निर्भर बनाउने, साविक महारानी हाल गौरादह वडा नं. ४ र ५ को जग्गा दर्ता र धनिपूर्जा वितरण कार्य चालू आर्थिक वर्ष बाटै सुरु गरि आर्थिक वर्ष २०७८७९ सम्पन्न गर्न समन्वयात्मक भूमिका निर्वाह गरिने, अन्य वडाहरुमा समेत जग्गाको नाप नक्सा संचालन गरि सुकुम्बासीहरुलाई धनिपूर्जा वितरण गरिने लगायतका उद्देश्यहरु रहेको छ ।

यस्तै, क्षेत्रगत नीति,कार्यक्रम तथा आधारहरुमा भौतिक पूर्वाधार विकास अन्तर्गत सडक, यातायात एवं आवासका लागि नगरको स्वामित्वमा भएका सडक, सार्वजनिक भवन, पुल लगायतका संरचनाहरुको मर्मत सम्भारका लागि रकम छुट्याई नियमित मर्मत सम्भार गरिने । मेयर उपमेयर विपन्न वर्ग आवास योजना संचालन, विपि मदन गरिब साझेदारी आवास योजना संचालन गरिने । शहरी तथा ग्रामीण पूर्वाधारका लागि गौरादह १ को जनता माध्यमिक विद्यालयमा संचालित प्राविधिक कक्षाका लागि पूर्वाधार विकासको निमित्त संघ र प्रदेश सरकार सँग आवश्यक पहल गरिने, बालबालिकाको लागि प्रत्येक वडामा बाल उद्यान निर्माण, नगरका पाँचवटा हाट बजारहरुमा खुल्ला फिटनेस सेन्टरको कार्य अघि बढाइने ।

पर्यटन क्षेत्रका लागि गौरादह पोखरीको डि.पि.आर तयार भइसकेको हुँदा पूर्वाधार विकासको निम्ति साझेदारीमा प्रदेश तथा संघिय सरकार सँग पहल गरिने, वडा नं. ९ मा रहेको हात्ती डुब्बा सिमसारलाई पर्यटन क्षेत्रको रुपमा चिनाउन आवश्यक पहल गरिने, गौरादहको पहिचानको लागि ढाका, झल्ला, अचार र दुग्ध परिकार व्यवसायलाई प्रर्वद्धन गरिने । उर्जा अन्तरगत ग्रामीण विद्युतीकरणमा जोड दिइने, नवीकरणीय उर्जाको प्रयोगलाई प्रोत्साहन र प्रर्वद्धन गरिने । सडक बत्तीको व्यवस्था ।

यस्तै, कृषि तथा पशुपन्छी अन्तरगत सबै साना तथा मझौला कृषि तथा घरेलु उद्योगलाई सहकारीमा आबद्ध हुन प्रोत्साहन गरिने, कृषि तथा सहकारी मन्त्रालय र नगरपालिकाको साझेदारीमा मत्स्य यान्त्रीकरण कार्यक्रम संचालन गरिने, मेयर उपमेयर उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था गरिने, मासु पसल सुधारका लागि लागत सहभागिता ५० प्रतिशत अनुदान दिइने, लोकल कुखुरा, बाख्रा पालन कृषकहरुलाई गोठ सुधारका निम्ति केही अनुदान प्रदान गरिने लगायत ।

सहकारी तथा लघु उद्यम अन्र्तगत गौरादहको समग्र विकासमा निजी सहकारी क्षेत्रलाई सहभागी गराउन प्रोत्साहित गरिने, लघु उद्योगलाई प्रोत्साहन, कृषि यान्त्रिकिरणको कार्यलाई अघि बढाइने । रोजगार प्रर्वद्धन अन्तरगत गाउँमै रोजगार गर्वको आधार नामक कार्यक्रम अन्तरगत वैदेशिक रोजगारबाट फर्केका युवा, कोभिड१९ बाट संक्रमित न्यून आय भएका, सुकुम्बासी परिवारलाई उद्यम संचालनमा तालिम तथा विशेष सुविधा उपलब्ध गराइने लगायत रहेको छ ।

सामाजिक विकास अन्तर्गत शिक्षा युवा तथा खेलकुदका लागि अनिवार्य प्राथमिक शिक्षाको लागि अनुकुल शिक्षण सिकाई वातावरण तयार गरिने, बाल विकास शिक्षालाई सामाजिकीकरणको पूर्वाधारका रुपमा स्थापित गर्दै प्राथमिक तहलाई आधारभूत गुणस्तरीय शैक्षिक पूर्वाधारको रुपमा विकास गरी दिवा खाजा व्यवस्थापन तथा बाल शिक्षकको सीप विकास गरिने, सामुदायिक विद्यालयमा यस नगरपालिका क्षेत्रबाट एस.ई.ई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक जना छात्र छात्रालाई ल्यापटप सहित सम्मान गरिने व्यवस्था,नगरभित्र का सामुदायिक विद्यालयका खेल मैदानलाई व्यवस्थित गरिने लगायत ।

स्वास्थ्य अन्तगत पूर्ण पोषणयुक्त नगर वडा अभियान, सुनौलो एक हजार दिन तथा महिला बालबालिका लक्षित कार्यक्रम संचालन गरिने, पूर्ण संस्थागत सुत्केरी नगरपालिका कार्यक्रम संचालन गरिने, ५ वटा वर्थिङ सेन्टर संचालनमा ल्याइने, ग र घ वर्गका अपाङ्ग तथा असक्त असहायहरुका लागि एक पटक निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिने, डेंगु मलेरीया जस्ता आपतकालिन व्यवस्थापन सचेतना कार्यक्रम तथा उपचार तथा किटनाशक औषधि छिट्काउ कार्यक्रम संचालन गरिने ।

खानेपानी सरसफाई तथा फोहरमैला व्यवस्थापन अन्तर्गत गौरादह खानेपानीलाई गौरादह२ बर्लम भिट्टा हुँदै कृष्णेखोल पूर्व गौरादह९ सम्म विस्तार गरिने, विपन्न तथा सिमान्तकृत वर्गका लागि मेयर उपमेयर कार्यक्रम अन्तर्गत खानेपानीको मिटर र विद्युत मिटर खरिदमा अनुदानको व्यवस्था यस वर्ष देखि अघि बढाइने, फोहर मैला व्यवस्थापनको लागि डम्पिङ साइडको लागि जमिन प्राप्त गरि वैज्ञानिक प्रशोधन शाला निर्माणको लागि संघ, प्रदेश तथा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था सँग समन्वय गरिने । धर्म संस्कृति अन्तर्गत लोपोन्मुख बाजागाजा, सांस्कृतिक परम्परा आदिको संरक्षण । असहाय बेवारिसे र हिंसा पिडित महिलाहरुलाई सेफ हाउसको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया