Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सम्पादकीय

हरेक मान्छे सामाजिक भएर बाँच्न चाहन्छ । मान्छे जति बुढ्यौली हुँदै जान्छ, त्यति नै परिवारको साहरा, साथ र सहयोग चाहन्छ । ज्येष्ठ नागरिक समाजका उदाहरणीय पात्र हुन् ।

सबै नागरिकलाई परिवार र समाज अपरिहार्य आवश्यकता हो । परिवार जीवन निर्वाह गर्ने मानवीय आवश्यकता पनि हो । समाज जन्मदेखि मृत्यु पर्यन्तको आवश्यक थलो हो । परिवारले मनोभावलाई ह्रास हुनबाट बचाउँछ भने समाजले व्यक्तिलाई सामाजिक सुरक्षा र सम्मान प्रदान गरी मनमा रहेका कुण्ठालाई न्यूनिकरण गर्छ ।

जीवनको उत्तरार्ध अवस्था भनेको नै ज्येष्ठ नागरिक हुनु हो । हरेक मानिसको जीवनको आधारभूत कार्यथलो भनेको परिवार र समाज हो । मानिस यसै परिवेशमा जन्मन्छ, हुर्कन्छ, बढ्छ र मृत्युवरण गर्छ । ज्येष्ठ नागरिकको पहिलो र अन्तिम भौतिक सम्पत्ती घरपरिवार र समाज हो, वृद्धाश्रम होइन । समयक्रमसँगै नयाँ पुस्ता (छोरा-बुहारी) को जीवन शैलीमा तीव्र गतिले परिवर्तन आउन थालेको छ, मान्यता बदलिँदै गएका छन्, परिवार र समाजमा ममताको अभाव बढ्दै गएको छ ।

नेपालमा मानिसको जीवनको साठी वर्षलाई ज्येष्ठ नागरिकको प्रारम्भिक बिन्दु कानुनी रूपमा मानिएको छ । मानिसको जीवन उमेर बढ्दै जानु, बुढेसकालमा पुग्नु र मृत्यु हुनु शासत सत्य हो । मानिस जन्मँदा मनका कुरा के थिए, वर्तमानमा व्याख्या गर्न कठिन छ तर भोक, तिर्खा, चिसो, तातो, आमाको स्नेह, जसलाई मनका कुरा थिए होलान् भन्नमा दुईमत हुँदैन ।
मानिसको जन्मपश्चात उमेर बढ्दै जाँदा जे–जे अनुभव गर्दै जान्छ, सोहीअनुसार व्यवहार प्रदर्शन गर्दै जान्छ । यस्तो व्यवहार प्रदर्शन गर्नु भनेको मन, चेतना र बाह्य वातावरणबीचको सम्पर्कबाट मनका कुरा व्यक्त गरिन्छ । वास्तवमा मनका कुरा उमेर बढ्दै जाँदा शारीरिक, जैविक, वंशानुगत र वातावरणको समिश्रणको प्रतिफल हो ।

वास्तवमा ज्येष्ठ नागरिक अनुभव सीप र ज्ञानका स्रोत हुन् र यस्ता पुराना पुस्ताबाट हामी नयाँ पुस्ताले सिक्नुपर्छ भन्ने सोचलाई प्राथमिकता दिनुपर्छ । विद्यालयमा दिइने नैतिक शिक्षा आफैँमा एउटा स्रोत हो । परिवारको व्यावहारबाट पुराना पुस्ताले नयाँलाई सीप, ज्ञान, धर्म, संस्कार संस्कृति र कला सिकाउनु र नयाँले जान्नु नै ज्ञानको पुस्त हस्तान्तरण पनि भनिन्छ । अधिकांश ज्येष्ठ नागरिकमा नयाँ पुस्तालाई केहिकुरा सिकाएर मृत्युवरण गर्ने पाए हुन्थ्यो भन्ने सोच हुन्छ ।

यो हुनुलाई परिवार र समाजले सकारात्मक तवरले लिनसके घर झगडा र पुरानोको घृणा गर्ने सोचाइ भएकाहरुको सरल उपचार हुने देखिन्छ । माया भन्ने विषय मानवीय सम्वेगात्मक विषय हो । वृद्धाश्रममा बुबाआमालाई राख्नेभन्दा परिवार र समाजमा हाँसीखुशी जीवन बिताउने अवसर प्रदान गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो ।

यस अर्थमा ज्येष्ठको सम्मान र सम्पत्ति बृद्धाश्रम नभएर झुपडि नै भएपनि आप्mनो औकात अनुसारको कर्मथलोको घर नै हो । यो सवैले बुभ्mन सक्नु पर्छ । यो हुन सकेमात्र जन्मदिने बाबुआमाप्रति छोरा छोरीको कर्तब्यबोध हुन्छ । कर्तब्यबाट कोही पाखा हट्न मिल्दैन । ज्येष्ठ नागरिकको सम्मान गरौं ।

तपाईको प्रतिक्रिया