Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

पदमप्रसाद भट्टराई, ३१ जेठ २०७८

यो बर्षको मनसुन नेपालमा गत शुक्रबारबाट शुरु भएको छ। असारको शुरुवातसंगै मनसुन पनि सक्रिय हुने र यसपटक १८ लाख भन्दा धेरै मानिसहरु प्रभावित हुने कुरा संचार माध्यममा आईरहेका छन्। एकातिर कोरोनाको त्रास छदैछ भने सम्भावित बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरुको डर समेत थपिएको छ। किसानहरुमा खेतमा पाकेको चैतेधान थन्क्याउने चटारो छ।

मनसुन भित्रिएर पानी पर्न शुरु भईसकेको अवस्थामा जसोतसो बडो मुस्किलले नभिजाई तयार पारेको धानको  मूल्य दिनैपिच्छे घट्दै गएको, धानका ब्यापारी तथा मिलवालाहरुले धान खरिद गर्न नचाहेको र यस बिषयमा चुईक्क नबोल्ने राजनीतिक दलहरु र किसान संगठनहरुको मौनतालाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ।

यसैगरी किसानहरुको बर्षैपिच्छेको यो समस्यालाई नजरअन्दाज गर्दै आएका स्थानीय निकाय र जनप्रतिनिधिहरुले अझैपनि आवश्यक पहल नगर्नुलाई स्वभाविक मान्न सकिदैन।

खेतमा भएको अवस्थामा प्रतिमन (४० केजि) ७०० रुपैयाँ तोकिएको धानको  मूल्य हाल ५०० रुपैयाँ मा झरेको छ। लागत , मेहनत र अन्य चिजको बढदो  मूल्यका आधारमा चैतेधानको  मूल्य किसानमैत्री छैन।

किसानले उत्पादन गरेका हरेक उपजको  मूल्य निर्धारण गैह्रकिसान ब्यापारी तथा मिलवालाहरुले गर्ने भएकोले साथै राज्यपक्षबाट समेत यो बिषयमा हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको हुँदा किसानको लागत र मेहनत अनुसारको  मूल्य कायम नहुँने र कृषिउपजले सही बजार  मूल्य नपाँउदा उनीहरु जहिलै मारमा पर्ने गरेका छन्।

कृषि उपजको  मूल्य निर्धारण स्वयम कृ्षकले लागत र मेहनत अनुसार गर्ने प्रणाली स्थापित गर्नका लागि बर्तमान ब्यापारी, मिलवाला र बिचौलियाको मजबुत साङ्लो तोडन जरुरी छ। कृषि उपजको  मूल्य लागत अनुरुप छैन, त्यसैले किसान कहिल्यै नाफामा हुदैन।

मल, बीउ, ओैषधि, कृषियन्त्र, उपकरण, कामदारको ज्याला लगायतका सामानहरुको बढ्दो  मूल्यले लागत बढने, प्राकृतिक बिपत्ति हावाहुरी असिनाले गर्ने क्षतिले धेरै नोक्सान हुनेहुँदा कृषिमा आत्मनिर्भर हुन गाह्रो छ।

भुसभन्दा धान सस्तो, चोकरभन्दा गहुँ सस्तो कृषि उपजको बजारभाउ यस्तै हुन्छ। यस्तो भएपछि उत्पादक र ग्राहक दुईपक्ष जहिलै मारमा पर्छ भने वीचको तेश्रोपक्ष (ब्यापारी, उद्योगी र बिचौलिया) लाई मालामाल हुन्छ, नाफा हुन्छ। किसानले बेच्ने मात्र गर्दैन, आफुले उत्पादन नगरेका सामाग्री बजारबाट खरिद पनि गर्नेहुँदा आकाशिदो महङी उसका लागि झनै घातक हुनजान्छ।

अन्य क्षेत्रका उत्पादनहरुको मुल्य निर्धारण उत्पादक स्वयमले गर्छ भने बिडम्बना मान्नुपर्छ, कृषि मात्र यस्तो क्षेत्र हो जसको उत्पादन गर्ने किसानले कृषिउपजको लागत अनुसारको मुल्यनिर्धारण गर्न पाउदैन।

देशमा अनेकौ बाद, तन्त्र र सरकार परिवर्तन भएतापनि किसानले ब्यापारी र उद्योगीले तोकेको मुल्यमा आफ्नो उत्पादनलाई बेच्नुपर्ने बाध्यात्मक अवस्था अझै परिवर्तन हुनसकेको छैन। सरकारपिच्छेका कृषिमन्त्री, पार्टीपिच्छेका किसान संघ संगठन र कृषिक्षेत्रलाई प्राथमिकता दिने स्थानीय निकाय र जनप्रतिनिधिहरुले समेत कृषकका समस्या, बाध्यता र बजारीकरणका बिषयमा पर्याप्त ध्यान दिएको पाईदैन।

कृषि यस्तो क्षेत्र हो की जसले गैह्रकृषि क्षेत्रका मानिसहरुलाई समेत भरणपोषण गरेर ख्याल राख्छ। बिहान बेलुकी भान्सामा अनिबार्य अन्नको कुनै न कुनै रुपमा परिकार बन्ने गर्छ। संसारमा मानिस देखि लिएर पशुपंक्षी, जन्तु जनावरहरुले अन्नलाई नै आहारको रुपमा खानेहुँदा अन्नलाई धेरै महत्व दिईएको छ तर अन्न उत्पादन गर्ने कृषकको जीवन भने अझैपनि दयनीय र कष्टकर छ।

अन्य पेशा ब्यवशायका मानिसहरु सुकिला मुकिला र सम्मानित हुन्छन भने किसानलाई हेयको दृष्टिले हेर्ने गरिन्छ। कृषिकर्मका हिलो, मैलो र माटोमा बेग्लै सुगन्ध पाईन्छ, जुन अरु सुकिला मुकिलाहरुका निम्ति छ्या हुन्छ भने त्यही माटोमा फलेका अन्न फलफुलले उनीहरुको भोक मेटेको हुन्छ।

हालसम्मको हाम्रो निर्वाहमुखी कृषिकर्मले ब्यवशायिकता र उद्यमशीलतामा फडको मार्दै गरेको अवस्थामा किसानका लागि लागत र मेहनत अनुसारको उचित  मूल्य निर्धारण र सर्वसुलभ बजारको ब्यवस्था गर्न जरुरी छ।

कर्मशील किसानहरुलाई कृषिमा आधुनिकीकरण, यान्त्रिकरण र ब्यवशायीकरण गर्दै कृषिलाई एउटा “सम्मानित पेशा” को दर्जा दिने र कृषिमा सुनिश्चित भबिस्यको प्रत्याभूति राज्यस्तरबाट गराउने हो भने हाम्रो कृषि क्षेत्रले चाँडै फड्को मार्नेछ। अन्यथा भुसको  मूल्यमा धान बेच्नुपर्ने अवस्थामा परिवर्तन आउने छैन।

गौरादह झापा, हाल कतार

तपाईको प्रतिक्रिया