सम्पादकीय, ३१ वैशाख २०७८

अनलाइनविचार, झापाको गौरादह नगरपालिकाले गोदाममा भण्डारण गरेको पाँच हजार केजी चामल कुहिएको अवस्थामा छ । गरिबीको रेखामुनिको जीवन बाँच्दै गरेका गौरादहका अतिबिपन्न नागरिकलाई यो १२५ मन चामल कुहिएको समाचारले कति दुखेको होला ? तर बिडम्बना !! यहाँका जनप्रतिनिधिलाई महामारीको बिषम परिस्थितिमा खाद्यान्न कुहिएको बिषयले कत्ति पनि दुखेको छैन ।

चामल कुहिएको विषयमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा तस्वीर सहित समाचार प्रकाशन भए । तर यो सूचना र समचारले गौरादहका जनप्रतिनिधिलाई अहिले सम्म पनि छोएको छैन किन होला ?

जनप्रतिनिधिलाई मात्र होइन स्थानीय राजनीतिक दलहरु पनि यो बिषयमा समाचार प्रकाशन भएको महिना दिन बितिसक्दा पनि चुँ सम्म बोलेका छैनन् । शुसाशन कायम गर्न गराउन दलीय खबरदारी खोई ? चामल कुहिएको बिषयमा नगरपालिकाको जवाफदेहिता नदेखिनु पक्कै पनि गरिबी माथिको उपहास हो ।

एक बर्ष अगाडि गौरादह बजारमा रहेको साबिक सिद्धकाली सहकारीको चुहिने जिर्ण भवनको खाली भुइमा चामल भण्डारण गरिएको थियो । यती ठूलो परिमाणको खाद्यान्न भण्डारण गर्दा सावधानी किन अपनाइएन ? नगरप्रमुख तथा जनप्रतिनिधिले भण्डारण गरिएको खाद्यान्नको विषयमा बेखबर रहेको प्रतिकृया दिन मिल्छ ?

समयमै चामलको उचित भण्डारणको ब्यवस्थापन गर्न तर्फ ध्यान नदिने बरु उल्टै बेखबर रहेको प्रतिकृया दिने जनप्रतिनिधिलाई जनताले जन कारबाही किन नगर्ने ? पानी चुहिने भवनमा स्टोर गरेर राख्दा ठूलो परिणामको उक्त चामल कामै नलाग्ने भएको छ ।

कुहिएको चामलबारे जनप्रतिनिधि बेखबर रहेको बताउने अनि फेरी फाल्नुपर्ने चामल राख्न दुई हजारको कोठा भाडामा लिनुपर्ने किन ? गत वर्ष कोरोना महामारीका समयमा भएको लकडाउनका समयमा जनता भोकै पर्दा नबाँडी राखेको चामल कोदाममै कुहिएको हो । गत वर्ष नगरपालिकाले खरिद गरेको चामल जनतालाई दिन नपाउँदै कुहिएको छ ।

कुहिएर नष्ट भएको चामलको मूल्य अहिलेको बजार भाउ अनुसार दुई लाख २५ हजार पर्न जान्छ । नगरपालिकाका कर्मचारी आफ्नो नाम नखुलाउने सर्तमा भन्छन् ‘केलायो भने केही चाहिँ काम लाग्ला कि ! तर, त्यो पनि भन्न सकिन्न । त्यसै त खान सकिँदैन ।’ चामलसँगै १५ बोरा भुजा पनि छ । त्यो भुजा पनि काम नलाग्ने अवस्थामा पुगेको छ । कति दयनीय र लापरवाहीपूर्ण छ नगरपालिकाको ब्यवस्थापन ।

बेला बिताएर बिग्रिएको चामल राख्न नगरपालिकाले अहिले भाडाको सटर लिएको छ । यसअघिको भवनमा विगतदेखि नै ब्याडमिन्टन खेल्ने गरिएको थियो । चामल राखेका कारण खेल्न नपाइएकाले स्थानीयको आग्रहमा त्यहाँबाट चामल हटाएर भाडाको घरमा कुहिएको चामल राखिएको छ ।

कामै नलाग्ने चामल राखेबापत नगरपालिकाले अहिले उक्त सटरको दुई हजार तिर्नुपर्छ । जनतालाई राहत दिन खरिद गरिएको चामल जनतालाई भोकै बनाएर गोदाममा थन्काइएर कुहाउनु अपराध हो ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । यो समयमा मजदुरले काम पाउन छाडेका छन् । रोजगार गुमेसँगै सुकुम्बासी, गरिब बिपन्न मजदुर भोकै पर्ने खतरा छ । खाद्यान्न कुहाउने जो कोही होस् कारवाही हुनुपर्छ ।

तपाईको प्रतिक्रिया

Comments