Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, ३१ वैशाख २०७८। प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ दिलाउनुभएको हो ।

तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको हो ।

यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

बिहीबार राति ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न समय दिइएकामा निर्धारित समयमा कसैले पनि त्यस्तो दावी पेश गर्न नसकेपछि राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

त्यसअघि, ओली वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा सदनको विश्वास लिन नसकी आवश्यक बहुमत जुटाउन नसक्दा पदमुक्त हुनुभएको थियो ।

सबै विपक्षी दलहरु ओलीलाई फेरि प्रधानमन्त्रीमा नियुक्त हुन नदिन जुटेपनि अन्तिम समयमा ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई तटस्थ राख्दै विपक्षी कित्तामा बहुमत पुग्न दिनुभएन ।

त्यसैगरी, आफैले पार्टीबाट निलम्बन गरेका माधव नेपालहितका चार नेतालाई कार्वाही फुकुवा गर्दै सर्वोच्च अदालतको आदेशबमोजिम पार्टी सञ्चालन गर्ने सहमति जनाएर थामथुम पार्नुभएको थियो ।ईमेजखबर

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments