Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

काठमाडौं, ७ असोज २०८३ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव बुधबार (असोज ७) देखि नेपालमा देखिन सुरु भएको छ । यो प्रणालीको प्रभावका अबका दुई–तीन दिन देशमा ‘भारी’देखि ‘अति भारी’ वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

तर, देशका सबै ठाउँमा एकनासको पानी पर्ने सम्भावना छैन । कतिपय भूभागमा कम र केही स्थानमा अति भारीसम्म वर्षाको सम्भावना छ । हिमाली भेगमा बाक्लो हिमपातको पनि पूर्वानुमान रहेको विभागले जनाएको छ ।

मनसुनसँगै न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बिहान काठमाडौंसहित विभिन्न स्थानमा वर्षा भएको छ । यति बेला (बुधबार दिउँसो १२ः५० बजे) पनि केही ठाउँमा पानी परिरहेको छ । वर्षाको गतिविधि क्रमशः बढ्दै जाने विभागले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने विभागको मापदण्ड छ ।

तपाईको प्रतिक्रिया