काठमाडौँ, ४ फागुन २०७७ । अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै प्रावधान खुला गरिएको हो ।
हालसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन । ऐन तथा नियमावलीअनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि सम्बन्धित विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने प्रावधान राखिएको छ ।
शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ । उपनियम ९२० मा ‘उपनियम ९१०मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको हो ।
यसअघिको विद्यार्थीको अभिभावक कर्मचारी भएमा र निजको सो समयमा सरुवा भएमा, वैवाहिक सम्बन्धको कारणले महिला विद्यार्थी अन्यत्र स्थानान्तरण हुनु परेमा वा अभिभावक बसाई सराई भएमा मात्र कक्षा १० मा स्थानान्तरण प्रमाणपत्र दिने व्यवस्था थियो ।
राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रक रामराज खकुरेलले नियमावली संशोधन भएसँगै कक्षा १० मा विद्यार्थी भर्ना हुन वा स्थानान्तरण हुन सक्ने बताए । ‘नियमावली संशोधन भएरअनुसार कक्षा १० मा विद्यार्थी भर्ना हुने बाधाअड्चन देखिएन,’ बोर्डले यो वर्षसमेत कक्षा ९ का विद्यार्थीलाई रजिस्ट्रेसन भराउन निर्देशन दिएको र विद्यालयले भनाइसकेको उल्लेख गर्दै खकुरेलले भने, ‘नियमावलीले कक्षा १० भर्ना खुला गराए पनि बोर्डले केही आधार बनाउनु पर्ने देखिन्छ ।’
त्यसैगरी संशोधित नियमावलीले मूल नियमावलीको नियम ८४ संशोधन गरी प्रतिबन्धात्मक वाक्यांश थपेको छ । ‘तर महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नु पर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्ने छ ।’ उक्त नियम ८४ मा शैक्षिक सत्र, भर्ना गर्ने समय र काम गर्ने दिनबारे व्यवस्था रहेको छ ।कान्तिपुरबाट






