शान्ति सुब्बा
गौरादह, ४ फागुन २०७७ । झापाको गौरादहमा आज १ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जसमा ४२ महिला र १ सय ३४ पुरुष रहेका छन् ।
कोरोना भाइरस विरुद्धको खोपको लागि ३ सय जनाले खोप लगाउने लक्ष्य राखिएको भएतापनि १ सय ७६ जनाले मात्र खोप लगाएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।
फागुन २ देखि ८ गते सम्म जिल्ला अन्तर्गतका सबै सरकारी कर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरु, पत्रकारहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरु, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीहरु र पहिलो चरणमा खोप लगाउन छुट भएका तोकिएका व्यक्तिहरुलाई खोप लगाइने जनाएको छ ।
गौरादह नगरपालिकाले कोरोना विरुद्धको खोप लगाउन सूचना समेत जारी गरेको थियो । खोप लगाउनका लागि गौरादह नगरपालिकाको कार्यालय भवनमा दिनको १० देखि ३ बजे सम्म उपस्थित हुन आग्रह समेत गरेको थियो । गौरादहमा आज १ दिन मात्र खोप लगाउने कार्यक्रम राखिएकोले अब बाँकी छुटेकाले पालिकाले तोकेको केन्द्र दमकमा गएर ८ गते भित्र सम्म कोरोना विरुद्धको खोप लगाउन सकिने प्रमुख भट्टराईले जानकारी दिनुभयो ।







