Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

बैतडी, २६ माघ २०७७ । बैतडीको दोगडाकेदार गाउँपालिकास्थित जंगलमा विभत्स अवस्थामा भेटीएकी स्थानीय १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालयलाई सोमबार बुझाएको पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले भट्टको बलात्कारपछि हत्या भएको रिपोर्ट प्राप्त भएको जानकारी दिनुभयो ।

यसअघि घटनास्थलको प्रकृति हेर्दा पनि बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

भागरथीको शरिरका विभिन्न अंगमा निलडाम र चोटपटक लागेको थियो ।

बलात्कारपछि हत्या भएको पुष्टि भएसंगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तिब्र बनाएको जनाएको छ ।

किशोरीको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा ल्याइएको छ ।

डिएनए परीक्षणका लागि स्वाबलगायतका नमूना सङ्कलन गरिएको हो ।

आफन्तले भने हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राखेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको थियो ।

भागरथीले न्याय पाउनुपर्ने र दोषीलाई पत्ता लगाउन पर्ने मागसहित जिल्लास्थित राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् ।

घटनाको विरोधमा जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

तपाईको प्रतिक्रिया