Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २६ माघ २०७७ । हेलमेटको निहुँमा मोटरसाइकल चालकले प्रहरी नायव निरीक्षक (सई) माथि हातपात गरेको घटना बाहिर आएको छ । सईमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बनियानी इन्चार्ज तथा सई डम्बरबहादुर बस्नेतमाथि हातपात गरेको आरोपमा पक्राउ पर्ने कचनकवल गाउँपालिका ६ निवासी ३५ वर्षीय रतन राजवंशी र सोही ठाउँका ३३ वर्षीय डिल्ली राजवंशी रहेको डिएसपी थापाले बताए ।
उनका अनुसार सई बस्नेतको नेतृत्वमा आइतबार बेलुका साढे ५ बजे बनियानी चोकमा प्रहरी खटिएका थिए । सोही बेला डिल्ली राजवंशी विना हेलमेट मोटरसाइकल चलाउँदै चोक आइ पुगे । त्यसपछि प्रहरीले उनलाई रोकेर हेलमेट लगाएर मोटरसाइकल चलाउन अनुरोध गरे ।

सोही विषयमा चालकले प्रहरीसँग विवादसँगै गालीगलौज गर्दै सई बस्नेतमाथि हातपात गरेका थिए । उनीहरूको हातपातबाट सई बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ । घट्नापछि प्रहरीलाई हातपात गर्ने दुवै जनालाई पक्राउ गरी थप आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा ल्याएर अनुसन्धान गरिरहेको डिएसपी थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया