झगेन्द्र खड्का
गौरीगंज, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक सांसद बिगठनको खारेजीको माग गर्दै जनता समाजवादी पार्टी झापाले गौरीगंजमा विरोध प्रदर्शन गरेको छ।
जनता समाज पार्टी झापाले गरेको विरोध प्रदर्शनीमा पार्टीका कार्यकर्ताहरुले शुक्रबार दिउसो गौरीगंज गाउँपालिकाको खजुरगाछी बजारबाट नारावाजी गर्दै जुलुससहित निस्किएको र्यालीले गौरीगंज बजार परिक्रमा गरि गौरीगंज चौकमा कोणसभामा परिणत भएको थियो।
विरोध सहित निस्किएको र्यालीमा असंवैधानिक कदम खारेज गर, संसद पुनर्स्थापना गर, रेशम चौधरी लगायत राजवन्दीहरूको रिहा गर, सम्पुर्ण लोकतान्त्रिकवादीहरू एक हौ, केपी सरकार मुर्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए।
जनता समाज पार्टीका जिल्ला अध्यक्ष दिपेन वाला राइले संविधान र लोकतन्त्रको रक्षा गर्नु सबै नेपाली जिम्मेवार भएकाले लोकतन्त्रवादीहरूले केपी ओलीको संसद विघटनको असंवैधानिक कदमको विरोध गर्न बाध्य हुनु परेको धारणा राखेका थिए।जनताले नेकपालाई दुई तिहाई मत दिएर ५ वर्षका लागि जिताएर केपी ओली लाई सरकारको जिम्मा दिएपनि ओलीले जनताको मतको कदर नगरी दुरुपयोग गरेर संवैधानमाथि नै धावा बोलेर देश र जनतालाई अन्धकारतिर धकेलेको जिल्ला अध्यक्ष राईले जिकिर गरे।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्यनारायण गणेशले केपी ओली नेतृत्वको सरकारले देश र जनताका लागि भन्दापनि व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेको भन्दै त्यसलाई विफल बनाउन सबै नेपाली जनताले त्यसको प्रतिकार गर्नु पर्ने धारणा राखे। संबिधानमा आदिवासी जनजाती, पिछडा वर्ग, मधेशी मुस्लिमहरुको अधिकार यो संविधानले सुरक्षित गरेको हुनाले संविधानलाई रक्षा गर्न आवश्यक रहेको उनको भनाइ थियो।
विरोध सभामा केन्द्रिय सदस्यहरू शंकर राजवंशी, राधा थापा, प्रदेश कमिटि सदस्य तुलसी राजवंशी लगायतले संसद विघटनको विरोध गर्दै संसद पुनर्स्थापनाको माग गरेका थिए । जिल्ला अध्यक्षद्वय दिपेनवाला राई र अनुप सिंह राजवंशीको अध्यक्षतामा भएको विरोध सभामा जिल्ला सचिव देवेन्द्र किशोर ढुंगानाले संचालन गरेका थिए।






