झापा, १४ माघ २०७७ । देशभर आज बाट सुरु भएको कोभिड-१९ विरुद्धको खोप अभियानको पहिलो चरणमा झापामा आज ५ सय ३५ जनाले खोप लगाएका छन् । जसमा ३ सय १७ महिला र २ सय १८ पुरुष रहेका छन् ।

कोभिड-१९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो प्राथमिकतामा परेका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वंय सेविकाहरु, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु,पालिकाद्वारा नियुक्त सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरु, कोभिड१९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरुलाई खोप लगाइने जनाइएको छ ।

आजबाट सुरु भएको खोप १८ गते सम्म लगाइने छ । जस अन्तर्गत आज मेची अस्पताल भद्रपुर खोप केन्द्रबाट ४१ महिला र ३५ पुरुष गरि ७६ जनाले, अनारमनी नगर अस्पताल बिर्तामोड खोप केन्द्रबाट २ सय ३ महिला र १ सय ११ पुरुष र दमक अस्पताल खोप केन्द्रबाट ७३ महिला र ७२ पुरुष गरि ५ सय ३५ जनाले खोप लगाएको झापा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो ।

माघ २३ गतेभित्र पहिलो डोज खोप लगाइ सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो डोज खोप लगाएको चार सातापछि अर्थात फागुन १२ गते दोस्रो डोज दिइने छ ।

१५ गते गौरादह नगरपालिका, अर्जुनधारा नगरपालिका र हल्दिबारी गाउँपालिकामा आ आफ्नो केन्द्रबाट खोप लगाइने भएको छ । गौरादह नगरपालिकाको लागि दमक अस्पताल केन्द्रबाट खोप लगाइने छ ।

तपाईको प्रतिक्रिया

Comments