कमल, २८ पुष २०७७ । झापाको कमल गाउँपालिकाले खानेपानीको पहुँच सबै जनतामा पु¥याउने उद्देश्यले रु दुई करोडभन्दा बढीको खानेपानी पाइप खरीद गरेर विस्तार गरेको छ ।

सात वडा रहेको यस पालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गौरवको योजनाअन्तर्गत नै खानेपानीको विस्तारलाई अघि बढाएको छ । पालिकाका अधिकांश बासिन्दाले यसअघि कल तथा इनारको पानी प्रयोग गर्दै आएका थिए ।

पालिकाकी अध्यक्ष मेनुका काफ्लेले खानेपानीको पहुँच नै नपुगेका वडा नं १ र ७ सहित पालिकाभरि नै खानेपानीको विस्तार गर्ने योजनाका साथ काम भइरहेको बताउनुभयो ।

उहाँले इनार र कलको पानीमा आइरन बढी भएका कारण विगतमा झाडा, बान्तासहित विभिन्न रोग लाग्ने समस्याबाट जनतालाई जोगाउन शुद्ध खानेपानीको व्यवस्था गरिएको बताउनुभयो ।  हाल लखनपुरमा साढे चार लाख लिटर क्षमताको ट्याङ्की भए पनि थप एक लाख लिटरको निर्माण गर्ने काम भइरहेको छ । वडा नं २ मा यसअघि एक लाख लिटरको ट्याङ्की थियो । थप साढे चार लाख लिटरको ट्याङ्की निर्माणका लागि रु नौ करोडमा ठेक्का लागिसकेको उहाँको भनाइ छ ।

उहाँले डिप बोरिङ प्रविधिबाट खानेपानी निकालेर एकदेखि डेढ वर्षभित्रमा सबै पालिकावासीको खानेपानीमा पहुँच पु¥याउने जानकारी दिनुभयो ।

अन्य वडावासीले अधिकांश सफा र गुणस्तरीय पानी पाए पनि वडा नं १ मा पाइपलाइन विस्तार हुने काम मात्र भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Comments