Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २४ पुस २०७७ । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद डा. सुब्बा ४१२ मतसहित विजयी हुनुभएको र उहाँका प्रतिस्पर्धी डा. जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जानकारी दिए ।

यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो । डा. सुब्बा र डा. कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन्।

भाषा–साहित्यका क्षेत्रमा ऐतिहासिक सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएको हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।

निर्वाचित भएपछि रासससँग कुरा गर्दै अध्यक्ष डा. सुब्बाले हरेक हिसाबले ध्वस्त प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने चुनौतीपूर्ण काममा आफू इमानदार भएर लाग्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण अग्रज स्रष्टा र मतदाताबाट प्राप्त सद्भावप्रति श्रद्धाभाव व्यक्त गरे ।

कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो । प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए । सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेका संयोजकत्वमा समिति गठन भएको थियो ।

साधारणसभाको गणपूरक सङ्ख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराइएको जनाइएको छ । शनिबार भर्चुअलरुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ ।

संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ , भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एकएक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।रासस

तपाईको प्रतिक्रिया