Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २० पुष २०७७ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोमबार भइरहेको तेस्रो अधिवेशनले भद्रपुरका व्यापारी तथा झापा उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहेका ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।

एसोसिएटतर्फको उपाध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत, कोषाध्यक्षमा रमेश राठी निर्वाचित भएका छन् । सदस्यहरुमा एसोसिएटतर्फ रविन दाहाल र श्रवण अग्रवाल, बस्तुगततर्फ सुभास आचार्य र राजन श्रेष्ठ निर्विरोध निर्वाचित भएको प्रदेश १ उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए । यस्तै, जिल्ला नगर सदस्यतर्फ युवराज शाक्य, भुपाल कटुवाल, प्रितम खडगी,वीरेन्द्र साह र कुमार भट्टराई निर्विरोध निर्वाचित भएको उनले बताए ।

जिल्ला–नगरतर्फको उपाध्यक्षमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल निर्वाचित भएका छन् । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणी पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि पुस ११ गते आह्वान गरेको अधिवेशन रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिट उपर सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी भएपछि स्थगित भएको थियो । पुस १४ गते उच्च अदालत विराटनगरले अन्तरिम आदेश खारेज गरेपछि अधिवेशन भइरहेको हो ।

तपाईको प्रतिक्रिया