Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २० पुष २०७७ । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सुरु गरेको छ । गत आर्थिक वर्षदेखि सुरु भएको कार्यक्रम चालु आर्थिक वर्ष सम्म आइपुग्दा ६९ वटा स्थानीय तहमा पुगी सकेको छ । चालु आर्थिक वर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम सुरु गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमका लागि आइतबार देखि विराटनगरमा तालिम सुरु गरिएको छ । ४५ दिने तालिमको सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।

तालिम उद्घाटन गर्दै उनले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम प्रदेश सरकारले निरन्तर रूपमा सञ्चालन गर्ने बताए । अपाङ्गता न्यूनीकरणका लागि कार्यक्रम प्रभावकारी बन्ने उनले विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले अपाङ्गता न्यूनीकरणका लागि करुणा फाउन्डेसनसँगको सहकार्यमा काम गरिरहेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको मेरुदण्ड सहकर्ताहरू भएको बताए ।

प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउन्डेसन बिचको सहकार्यमा तीन बर्षे कार्यक्रम सुरु गरिएको हो । मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २७ स्थानीय तहबाट गत वर्ष कार्यक्रम सुरु गरिएको थियो ।

चालु आर्थिक वर्षमा मोरङ, सुनसरी, सङ्खुवासभा र भोजपुरका गरी थप ३१ स्थानीय तहका कार्यक्रम सुरु गरिएको करुणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताए । उनका अनुसार इलामका १० र सुनसरीको बराहक्षेत्रमा यसअघि देखि नै कार्यक्रम सञ्चालनमा छ ।

करुणा फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा ३ वर्ष कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारसँग सम्झौता भएको करुणा फाउन्डेसनका सह निर्देशक योगेन्द्र गिरीले बताए । अपाङ्गता न्यूनीकरणको काम निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले ३ वर्षपछि प्रदेश र स्थानीय सरकारले कार्यक्रम अघि बढाउने उनले बताए ।टाइम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया