Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, १८ पुष २०७७ । नेकपाको दाहाल–नेपाल समूहले एक महिने लामो दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अरु दलसँग संयुक्त संघर्षका कार्यक्रमको प्रतिक्षामा रहेको सो समूहले अन्य दल तत्काल सहमत नभए पछि शनिबार एकल रुपमा आन्दोलनका कार्यक्रम ल्याएको हो ।

प्रतिनिधिसभा विघटनको विरोधमा सडक संर्घषमा रहेको दाहाल–नेपाल समूहले वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक पार्टीहरु र नागरिक समाजसँग व्यापक अन्तर्क्रिया गर्ने, प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, क्षमायाचना गरी विघटनको कदम सच्याउन अनुरोध गर्नेलगायतका १७ बुँदे दोस्रो चरणको आन्दोलनको घोषणा गरिएको छ ।

दोस्रो चरणको आन्दोलनको अन्तिममा माघ २३ गते काठमाडौंमा विरोध सभा आयोजना गर्ने जनाइएको छ । प्रवक्ता एवं केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनस्थापना नभएसम्म शान्तिपूर्ण संघर्ष जारी रहने बताउनुभयो । यसअघि पहिलो चरणको आन्दोलन अन्तर्गत दाहाल–नेपाल समूहले पुस १४ गते उपत्यकासहित देशभर प्रदर्शनका साथै विरोध सभा गरेको थियो । प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल–नेपाल समूह रूष्ट बनेको छ ।

तपाईको प्रतिक्रिया