Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौ, १४ असोज । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकामा रहेका मधेशीहरुले कालो झण्डा देखाएका छन् ।

राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई त्यहाँ बस्ने मधेशीहरुले कालो झण्डा देखाएका हुन् ।

अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरुसँगको भेटघाट कार्यक्रम समेत त्यहाँका मधेशीहरुले बहिष्कार गरेका छन् ।

मधेशी एशोसिएशन इन अमेरिका (मा) को संयोजकत्वमा सो विरोध कार्यक्रम भएको ‘मा’ का प्रतिनिधि सतेन्द्र साहले जानकारी दिए । उनले भने, ‘हामीले अमेरिकामा ‘मा’ को अधिवेशन गर्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बोलाएका थियौं तर प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिनुभयो । त्यसकै विरोधमा आज उहाँको विरोध गरेका हौं ।’

प्रधानमन्त्री ओली जाने सार्वजनिक कार्यक्रम वहिष्कार गर्नुका साथै उनलाई कालो झण्डा देखाइएको पनि उनले बताए ।

अमेरिकामा रहेका मधेशी समूदायको छाता संगठन मधेशी एशोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएको थिएन ।अनुमति नदिएपछि उनले जनकपुरबाट भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया