Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

धनगढी, १२ असोज । प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेश-७ को स्थायी राजधानी ’गोदावरी’ र नाम ’सुदूरपश्‍चिम’ स्वीकृत भएको घोषणा गरिएको छ।

शुक्रबारको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी राखेको प्रस्ताव तथा प्रदेशसभा सदस्य वीरमान चौधरी र शान्ति नेपालीको समर्थनमा रहेको प्रतिवेदन दुई तिहाइले स्वीकृत भएको घोषणा गरिएको हो।

५३ सदस्यीय प्रदेशसभामा स्थायी राजधानी र नामका लागि मतदान हुँदा राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ मा रहने तथा नाम सुदूरपश्चिम प्रदेश रहने पक्षमा ३८ र विपक्षमा शून्य मत परेको छ।

प्रदेश-७ को स्थायी राजधानी र नामाकरणबारे असहमति जनाउँदै आएको प्रतिपक्षी कांग्रेस १२ र राष्ट्रीय जनता पार्टीका दुई सांसद प्रदेशसभाको बैठक बहिस्कार गर्दै बाहिरिएका थिए।

उक्त घोषणासँगै स्वीकृत भएको प्रतिवदेनअनुसार स्थायी राजधानी कैलालीको गोदावरी ४ र २ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी-धनगढी डडेलधुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो।

राजधानी अनुपयुक्त स्थानमा भएको बताउँदै कांग्रेस र राजपाका सांसदले बैठक बहिष्कार गरेका हुन्। प्रदेशसभामा नेकपाका ३९ सांसद छन्। उक्त प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरिएपछि ३८ जना सांसदले पक्षमा मत दिएका थिए। शुक्रवार बिहान ११ बजेबाट शुरू भएको बैठक प्रतिपक्षीको विरोधका कारण बीचमा स्थगित गरिएको थियो। पुनः सञ्चालन भएको बैठक पनि बहिष्कार गरिएपछि सत्ता पक्षका सांसदको बहुमतबाट स्वीकृत गरिएको घोषणा गरिएको हो। प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले संसदमै नाराबाजी समेत गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments