Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ९ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अब तत्कालीन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टतर्फ सोझिएको छ । घटनाको छानविन गर्न बनेको उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापा “बादल”लाई प्रतिवेदन बुझाएपछि प्रतिवेदनले एसपी विष्टतर्फ निशाना सोझाएको छ ।

गृहमन्त्री रामबहादुर थापा “बादल”लाई छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले प्रतिवेदन बुझाएका हुन् । गत भदौ ७ गते गठित समितिले बुझाएको प्रतिवेदनमा प्रहरीका कैयौँ कमजोरी औंल्याउनुका साथै गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले “एक्सन” नलिँदा घटनाले ठूलो रुप लिएको उल्लेख गरिएको छ ।

निर्मला हत्याको अनुसन्धानमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे उनलाई पूर्वजानकारी रहेको हुनसक्ने आशंका प्रतिवेदनमा व्यक्त गरिएको छ । समितिका एक सदस्यका अनुसार विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेला पर्नेमा ढुक्क हुन सकिने एकिन गरेको छ ।

समितिले निर्मला पन्त हत्यापछि कञ्चनपुरमा एक्कासी जनलहर उत्रिनुमा “राजनीतिक घुसपैठ” भएको निष्कर्ष पनि निकालेको बताइएको छ । प्रहरीले घटनालाई सामान्य रुपमा लिनु र पीडितपक्षले आरोप लगाएका व्यक्तिमाथि गम्भीर नहुनुले प्रहरीको कामकारबाही शंकाको घेराभित्र रहेकाले यसमा थप अनुसन्धान हुनुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

समितिले प्रतिवेदनमा प्रहरी कार्यालयमा सुपरीवेक्षण अभाव रहेको पनि खुलाएको छ । एसपी विष्ट विवादित व्यक्ति हुँदाहुँदै जिल्लाको इन्चार्ज बनाएर पठाउँदा ख्याल नगरिएकोमा पनि समितिले प्रहरी प्रधान कार्यालयमाथि प्रश्न गरिएको छ ।

आरोपित व्यक्ति खडा गर्दा भनेको र सुनेको आधारमा भन्दा पनि प्रमाणमुखी हुनुपर्नेमा प्रहरी चुकेको प्रतिवेदनले औंल्याएको छ । दिलीपसिंह विष्टलाई प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । यद्यपि निर्मलाको भिजनल स्वाबसँग विष्टको डिएनए नमिलेपछि उनी छुटेका थिए । प्रतिवेदनले घटनास्थललाई सुरक्षित नगर्दा प्रमाणहरु गायब हुने जानकारी हुँदाहुँदै पनि प्रहरी लापरबाही देखिएको प्रतिवेदनले प्रष्ट्याएको छ ।

तपाईको प्रतिक्रिया