Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौँ, ४ असोज । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् ।

भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए ।

उपराष्ट्रपति पुनले नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका व्यापार तथा पारवहान सम्झौता र चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (बिआरआई)मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताएका छन् ।

नेपालमा वैदेशिक लगानीका लागि पूर्ण वातावरण बनेको बताउँदै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीका लागि प्रोत्साहित गरिदिन आग्रह गर्दै उपराष्ट्रपति पुनले नेपालको जलविद्युत्, कृषि, पर्यटन, जडिबुटी, भौतिक पूर्वाधार निर्माणमा लगानी गर्न सहज हुने बताएका थिए ।

सन् १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियौंदेखि सांस्कृतिक एवं विविध सम्बन्ध रहँदै आएको चर्चा भयो ।

चिनियाँ बन्दरगाह प्रयोगसम्बन्धी सम्झौतामा चाँडै हस्ताक्षर गर्न आग्रह गर्दै यसबाट नेपाल भूपरिवेष्ठित मुलुक नरहने बताए। उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीनविरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

ल्हासा, काठमाडौँ, लुम्बिनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियासम्म जोड्न सकिने र त्यसबाट दुबै देश लाभान्वित जानकारी दिँदै अवरुद्ध तातोपानी नाका सञ्चाल, केरुङ नाकाको स्तरोन्नति, ओलाङचुङगोलालगायतका नाका सञ्चालनमा पनि जोड दिए ।

संविधान जारी भएपछि तीन तहको निर्वाचन सम्पन्न भएर स्थायी सरकार बनेपछि सरकारको ध्यान ध्यान आर्थिक समृद्धितर्फ गएको जानकारी गराए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उपराष्ट्रति पुनले नेपालको समृद्धिका लागि चीनको ठूलो साथ सहयोगको खाँचो रहेको बताए ।

चीनका उपप्रधानमन्त्री हुले नेपाल चीनको घनिष्ठ र साझेदारी देश भएको बताउँदै नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ कार्यक्रममार्फत अघि बढेको बताए ।

तपाईको प्रतिक्रिया