Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ४ असोज – सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन सत्तारुढ नेकपाका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् ।

नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङको सक्रियतामा सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो ।

यसअघि जोशीले नेकपाका नेताहरुसँग सर्वोच्च्मा केही दिन फर्केर काम गर्ने अनि राजीनामा दिने सहमति गरेको बताइएको थियो । तर, जोशी सहमति विपरीत गएपछि पार्टी्भित्र जोशीमाथि महाअभियोग लगाउनुपर्ने माग बढ्न थालेको नेता गुरुङले बताए ।

नेता गुरुङका अनुसार महाअभियोग लगाउन पार्टीमा तीब्र दबाब आएको छ । यसअघिनै अक्षम भइसकेका व्यक्तिलाई फेरि न्यायाधीश मान्न नैतिक संकट पनि हुन्छ । त्यसकारण हस्ताक्षर संकलन सुरु गरिएको हो ।

महाअभियोग लगाउनुपर्ने अरु कारणबारे भने गुरुङले केही बताएनन् । यसअघि नै संसदीय समितिको दुई तिहाई बहुमतले जोशीलाई कार्यक्षमता नभएको अर्थात् असक्षम भनिसकेको अवस्थामा यही आधारलाई लिएर नेकपा सांसदहरुले महाअभियोगका लागि हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

तत्कालका लागि नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले खाली कागजमा सांसदहरुको हस्ताक्षर लिएका छन् । यद्यपि सचेतक गुरुङले हस्ताक्षरको कारणबारे भने सांसदहरुलाई जानकारी गराउँदै महाअभियोगको तयारी भएको बताएका छन् ।

हस्ताक्षर संकलन भएपनि आजै महाअभियोगको प्रस्ताव दर्ता हुने सम्भावना भने कम छ । हस्ताक्षर संकलन गरेसँगै जोशीले राजीनामा दिएर वातावरण सहज बनाइदिएमा भने प्रस्ताव दर्ता नगर्ने नेकपाले बताएको छ ।

संविधानअनुसार प्रतिनिधिसभाका २५ प्रतिशत सदस्यले न्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गराउन सक्छन् । महाअभियोग पारित हुन भने दुई तिहाई बहुमत चाहिन्छ ।

तपाईको प्रतिक्रिया