Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकोले त्यसको खुशीयालीको रुपमा आएको संविधान पनि जनताले खुशीयालीपूर्ण ढंगले मनाउन पाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । “२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवस सबभन्दा ठूलो राष्ट्रिय दिवस हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।”
प्रधानमन्त्री ओलीले संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने बताए । प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह पनि गरे । “संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो” प्रधानमन्त्री ओलीले भने, “यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।”
प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञा प्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरे ।
तपाईको प्रतिक्रिया